२० वर्षसम्म दाबी गर्न नआएको निक्षेपको तथ्यांक तत्काल नआउने


काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० वर्षसम्म दावी गर्न नआएमा राष्ट्र बैंकको बैंकिङ कोषमा राख्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले गत पुस २९ गते एक सूचना जारी गर्दै बैंकहरुसँग २० वर्ष पुरानो निक्षेप मागेको हो ।

केन्द्रिय बैंकले २० वर्षसम्ममा कुनै दावी नपरेको निक्षेप केन्द्रिय बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न आग्रह गरेको छ । बैकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्वन्धि विवरण भने बैंकले सुरक्षित राख्नुपर्नेछ । उक्त निक्षेपमा पुन दाबि पर्न आएमा बैंक तथा वित्तीय संस्थाले प्रमाण सहित राष्ट्र बैंकमा पेश गरेपछि पुन उक्त निक्षेप फिर्ता पाइनेछ ।

तर, नेपालका बैंक तथा वित्तीय संस्थासंग २० वर्षसम्म दाबी गर्न नआएको निक्षेप खाता कति छ भन्ने तथ्यांक तत्काल नआउने देखिएको छ । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले यस्तो निक्षेपको तथ्यांक तत्काल नआउने संकेत गरे ।

उनले भने, ‘अहिले नेपालका बैंक तथ वित्तीय संस्थासंग २० वर्षसम्म दाबी गर्न नआएको निक्षेप कति छ भनेर राष्ट्र बैंकमा तथ्यांक आएको छैन । त्यसैले यस्तो रकम ठ्याक्कै यति छ भनेर भन्न सकिने अवस्था छैन । हामीले यसको तथ्यांक मागेका छौं । यसको तथ्यांक आउन समय लाग्न सक्छ ।’

साथै कतिपय बैंकहरु २० वर्ष पुरानो नरहेको समेत बताउँदै उनले भने, ‘कतिपय बैंकहरु सञ्चालन आएको २० वर्ष पनि पुगेका छैनन् । २० वर्ष नाघेका बैंकहरुले तत्कालै यस्तो तथ्यांक पठाउन सक्ने स्थिती नहुन पनि सक्छ ।यो तथ्यांक निकाल्न बैंकहरुलाई समय लाग्न सक्छ । यसमा हतार गर्नु पर्ने स्थिति पनि छैन ।’

२० बर्षसम्म दावी गर्न नआएको निक्षेपको रकम धेरै नभएको नेपाल बैंकर्श एसोसिएसनका अध्यक्ष अनिल उपाध्याय बताउँछन् । उनी भन्छन्, ‘२० वर्ष पुरानो निक्षेप दुई चार वटा बैंकहरुमा मात्रै हुनसक्छ । यस्तो रकम धेरै नहुन सक्छ । किन भने कतिपय बैंकहरु २० वर्ष पुराना नभएको पनि हुनसक्छन् ।’

पहिला पहिला धेरै पैसा बैंकमा राखेर बस्ने चलन नभएको बताउँदै उपाध्याय भन्छन्, ‘पहिला बैंकमा खाता खोलेपनि केहि आफ्नो व्यवहारको पैसाहरु मात्रै राख्ने गर्थे । पहिलाका खाताहरुमा फोन नम्बरहरु थिएन । हिजोको परिवेशमा मानिसहरुले परिचय गराएर सहि गरिदिएको आधारमा बैंक खाता खुल्थ्यो ।’

त्यस्तै उनले २० बर्षसम्म दाबी गर्न नआएको निक्षेप रकम धेरै प्रकारका हुने बताए । उनले भने, ‘यस्तो रकम भनेको कसैको पारिवारिक समस्या, कसैको ठेगाना नमिल्ने, कतिको जागिर खान खोलेका खातामा रहेको रकम पछि ननिकालिएको, कोहि विदेश गएर दाबी गर्न नआएको रकतिपयको मृत्यु भएपछि उसका परिवार सम्पर्कमा नआएको जस्ता खालका पैसाहरु हुनसक्छन् ।तर, ठूलो अमाउन्ट नहुन सक्छ ।’

हाल नेपालका बैंकहरुसंग यस्तो खालको रकम कति छ भन्न चाँही उपाध्याय हिच्किचाए । उनले हाल नेपालका बैंकसंग यस्तो खालको रकम कति छ भन्ने कुरा राष्ट्र बैंकसंग रहेको उनले बताए । उनले भने, ‘सबै बैंकको स्टाटस के हो भनेर सबै केन्द्रिय बैंकसंग हुन्छ । कुन बैंकसंग कति छ भन्ने एशोसिएसनले दिने कुरा होइन । हामीले यो बैंकमा यस्तो निक्षेप यति छ भन्न मिल्दैन । हाम्रो कृषि विकास बैंकको कुरा गर्ने हो भने यस्तो रकम कति छ भन्ने कुरा पनि राष्ट्र बैंकसंग डाटा हुन्छ ।’

यता, देशकै पुरानो बैंक नेपाल बैंक लिमिटेडसंग नै २० वर्षसम्म दावी गर्न नआएका निक्षेको तथ्यांक छैन । नेपाल बैंकसंग २० वर्ष पुराना त्यस्ता निक्षेप खाताको तथ्यांक नरहेको नेपाल बैंकका सिईओ कृष्ण अधिकारी स्वीकार्छन् ।

‘पहिला हामी ढड्डामा थियौं । वि।सं २०६१ पछि मात्र कम्प्युराइज भयौं । पहिलो पटक कम्प्युटराइज हुँदा तत्काल खुलेको जस्तो रिपोटिङमा देखिन्छ’ उनी भन्छन्, ‘२०४० सालमा खुलेको खाता ढड्डा हुँदा कहिले खुलेको भन्ने मिति त हुन्छ नै तर, सिस्टममा इम्पोर्ट गर्दा २०६१ साल तिर खुलेको जस्तो देखिन्छ । यसले गर्दा हामीसंग २० वर्ष पुराना यस्ता खाता नभएको देखिन्छ ।’

कम्प्युटराइज हुनुभन्दा अघि खुलेका खाताहरु कहिले खुलेका भन्ने मिति भएपनि त्यसअघिका लेजरहरु बैंकसंग नभएको बताउँदै सिईओ अधिकारी भन्छन्, ‘यसले गर्दा हामीसंग २० वर्ष पुरानो दाबी गर्न नआएको निक्षेपको रकम ठ्याक्कै यति छ भन्न गाह्र्रो छ । तर, यसको मतलव २०६१ साल भन्दा अघिका खाताहरु नभएको भन्ने होइन । सिस्टममा इम्पोर्ट गरिसके पछि सिस्टमकै मिति अनुसार काउन्टिङ हुने भएकोले २० वर्ष पुराना खाता छैनन् भन्ने देखिन्छ ।’

त्यस्तै, उनले सानो सानो रकम भएका खाताहरुको हकमा मात्र यस्तो निक्षेप लामो समयसम्म दाबी गर्न नआउने गरेको बताए । उनले भने, ‘कोहिले व्यक्तिगत खाता परिवारलाई जानकारी नदिई खोल्ने गरेका पनि हुनसक्छन् । जसले गर्दा ती व्यक्तिहरुको दाबी कमै आउँछ । तर, यस्तो निक्षेप खासै ठूलो अमाउन्टको हुँदैन । ठूलो रकम भएको छ भने उसको प्रायजसो परिवारलाई थाहा भएको हुन्छ । यसको दाबी गरेर लैजान्छन् ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ