पाँच कट्ठामा खुर्सानी रोपेर वार्षिक पाँच लाख बचत


मिहिनेत गरे आफ्नै बारीमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण रौतहटका एक किसानले पेस गरेका छन्। पाँच कट्ठा जमिनमा खुर्सानी लगाएर वर्षको पाँच लाख आम्दानी गरेर ती किसानले उदाहरण पेस गरेका हुन्।

देशमा केही छैन, काम छैन, रोजगारी छैन भन्दै विदेश पलायन हुनेको भिडमा ती किसान उदाहरणका पात्र बनेका छन्

उमेरले ५५ वर्ष लागिसकेका रौतहटको वृन्दावन नगरपालिकाका एक किसानले पाँच कट्ठा जमिन भाडामा लिएर पिरो खुर्सानीको खेती गरेर एक वर्षमा पाँच लाख बचत गरेको बताए।

वृन्दावन नगरपालिका– १ विश्रामपुर घर भएका ५५ वर्षीय रामकिशोर मुखियाले पाँच कट्ठा जमिनमा लगाएको खुर्सानी बेचेर आफ्ना छोरालाई भारतमा कम्प्युटर इन्जिनियरिङ पढाइरहेका छन्। विगत पाँच वर्षदेखि पिरो खुर्सानीको खेती गरेर मनग्य आम्दानी गर्दै आएको मुखियाले बताए।

आफ्नो जमिन नभए पनि उनले भाडामा पाँच कट्ठा जमिन लिएर विगत पाँच वर्षदेखि खुर्सानीको खेती गर्दै आएका छन्। उनका अनुसार वार्षिक खेतको भाडा ४५ हजार तिरेर सबै खर्च कटाएर पाँच लाख बचत हुँदै आएको छ।

वृन्दावन नगरपालिक– १ का वडासदस्यसमेत रहेका मुखियाको मुख्य पेसा नै पाँच वर्षदेखि खुर्सानी खेती हो। उनको काममा श्रीमतीले समेत सघाउँदै आएकी छिन्। आफ्नै देशमा मिहिनत गरे सुन फलाउन सकिन्छ भन्दै मुखियाले आफ्नो बारीमा फलेको रातो खुर्सानी देखाउँदै भने, ‘विदेश जानुभन्दा आफ्नै देशमा मिहिनेत गरे यहीँ सुन फलाउन सकिन्छ। मिहिनेत गरेको छु। यहीँ मनग्य आम्दानी गरिरहेको छु। अहिले गाउँघरमा पैसा कमाउनका लागि विदेश जानेहरूको लर्को देख्दा आफूलाई दिक्क लाग्छ।’

अहिले आफ्नै बारीबाट सय किलोका दरले व्यापारीले खुर्सानी लाने गरेको उनको भनाइ छ। कात्तिकमा लगाएको खुर्सानीले चैतसम्म आम्दानी दिने र त्यसपछि सोही बारीमा अर्को तरकारी लगाउने गरेको मुखियाले बताए । खुर्सानीका अलावा पाँच कट्ठा बारीमा आफूले विभिन्न सिजनल तरकारी लगाएर आम्दानी लिने गरेको मुखियाले बताए।

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ