धनगढीमा सीपमूलक तालिम सञ्चालन गर्न छुट्टै भवन बनाइँदै


रोजगारलाई निःशुल्क सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिका–१८, फूलबारीमा सञ्चालित व्यावसायिक तालिम केन्द्र (भोकेसन स्कुल)को भवन शिलान्यास गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार प्राध्यापक डा. हेमराज पन्त र नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरूले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

तालिम केन्द्रका लागि एउटा प्रशासनिक भवन, दुईवटा तालिम ब्लक, तीनवटा साना भवनलगायत घेराबारासहितको संरचना निर्माण गर्न लागिएको हो। तालिम केन्द्र अहिले फूलबारी बहुमुखी क्याम्पसको भवनमा सञ्चालन हुँदै आएको छ। तीन करोड ८८ लाख रुपैयाँ लागतमा उक्त भवन आठ महिनामा निर्माण सम्पन्न गरिसक्ने सम्झौता छ।

धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सुरु गरिएको तालिम केन्द्रमा प्लम्बर, इलेक्ट्रिसियन तथा फर्निचर निर्माणसम्बन्धी आवासीय तालिमहरू सञ्चालन हुने गरेका छन्। बेरोजगारलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले उपमहानगरले केही महिनाअघि तालिम केन्द्र सञ्चालनमा ल्याएको थियो

नेपाल युथ फाउन्डेसनका अध्यक्ष पनेरूले उपमहानगरसँगको साझेदारीमा फाउन्डेसनले बेरोजगार युवालाई लक्षित गरेर चार प्रकारका तालिम सञ्चालन गर्दै आएको जानकारी दिए। सुदूरपश्चिममा कृषिको सम्भावनालाई लक्षित गरेर आधुनिक कृषि प्रणालीसम्बन्धी तालिमसमेत आउने दिनमा सञ्चालन गरिने बताए।

भवन निर्माण भएपछि तालिम सञ्चालनमा अझ सहज हुने अपेक्षा गरिएको छ। अहिले तालिम केन्द्र फाउन्डेसनले सञ्चालन गर्दै आएको छ। निश्चित समयपछि तालिम केन्द्र सञ्चालन र व्यवस्थापनको जिम्मा उपमहानगरलाई हस्तान्तरण गरिने बताइएको छ। उपमहानगरसँग सहकार्य गरेर युवाहरूलाई निःशुल्क व्यावसायिक तालिमहरू दिन पाउँदा खुसी लागेको अध्यक्ष पनेरूले बताए।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले फूलबारीमा रहेको तालिम केन्द्रमा सुदूरपश्चिमका सबै जिल्लाका इच्छुक युवाहरूले तालिम लिन सक्ने बताए। सीपमूलक तालिमले युवाहरूलाई रोजगार र स्वरोजगार बनाउन मद्दत पुग्ने उनले बताए। युवाहरूलाई रोजगार बनाउन सके गरिबी घटाउन सकिने मेयर हमालको भनाइ छ।

केही महिनाअघि सञ्चालनमा आएको तालिम केन्द्रबाट हालसम्म ५२ जनाले तालिम लिइसकेका छन् भने ४० जनाले तालिम लिइरहेकाे उपमहानगरले जनाएको छ। आफ्नै लगानीमा निःशुल्क तालिम दिइरहेको युथ फाउन्डेसनले भवन पनि आफ्नै लगानीमा निर्माण गरिदिन लागेको हो। पाँच वर्षपछि भने तालिम सञ्चालन र व्यवस्थापनको सबै जिम्मा उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौता छ। केन्द्रले तीनमहिने र साढे चारमहिने अवधिका सीपमूलक तालिम सञ्चालन गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ