सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या अझै बीमाको पहुँच बाहिर


कैलाली : सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या अझै बीमाको पहुँचबाहिर रहेको पाइएको छ।

२०७८ को जनगणनाअनुसार २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या भएको सुदूरपश्चिममा पाँच लाख चार हजार ६ सय ७० पोलिसी बिक्री भएको छ। त्यसमा ५ प्रतिशत घटाउँदा चार लाख ७९ हजार चार सय ३७ अर्थात् १७ दशमलव ७९ प्रतिशत नागरिक बिमाको दायरामा आएको पाइएको हो।

नौ जिल्ला भएको सुदूरपश्चिममा जीवन बिमाका एक सय ८५ शाखा छन्। सुदूरपश्चिम प्रदेशका १८ प्रतिशत नागरिकले बिमा गरेको देखिएको छ। आर्थिक अवस्था र बिमा चेतनाको कमीले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच कम देखिएको हो। नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार माघ मसान्तसम्म जीवन बिमा गर्ने अधिकांश नागरिकको आर्थिक अवस्था भने कमजोर देखिएको हो।

आर्थिक रुपमा कमजोर नागरिक रहेका प्रदेशमा बिमाको पहुँच न्यून देखिएको प्राधिकरणको तथ्यांकले पुष्टि गरेको छ। प्रदेशस्थित जीवन बिमा कम्पनीका शाखाले बिक्री गरेको पोलिसीका आधारमा यस्तो आँकडा निकालिएको हो। कम्पनीहरू सहरकेन्द्रित हुँदा पनि यस्तो अवस्था आएको प्राधिकरणका अधिकारीहरुको तर्क छ। बीमा व्यावसाय सहर केन्द्रित हुँदा ग्रामीण समुदायका नागरिकमा यसको महत्व समेत जानकारी नभएको बीमा प्राधिकरणले बताएको छ। रासस



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ