पूर्वमाओवादी नेताहरुको दावी : अध्यक्ष ओलीले गरेका निर्णयमा सन्तुष्ट छौं


काठमाडौं | नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूले पार्टीमा उचित जिम्मेवारी र मर्यादाक्रममा असन्तुष्टि देखिएको भनेर आएका समाचारको प्रतिवाद गरेका छन् ।

शुक्रबार बिभिन्न सञ्चार माध्यमहरूमा उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टि नै जाहेर गरेको लगायतका समाचारहरु प्रकाशित भएका थिए । तर पूर्व माओवादी नेताहरुले भने ती सबै समाचार झुटो भएको दावी गरेका छन् ।

माओवादीबाटै एमालेमा प्रवेश गरेका नेता मणि थापाले अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णयप्रति आफूहरू सन्तुष्ट रहेको  बताए । उनले बाहिर आएजस्तो आफूहरूमा असन्तुष्टि नरहेको र एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र अध्यक्ष ओलीले दिएको जिम्मेवारीमा आफूहरू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । बाहिर आएका सबै समाचारहरू फेक भएको उनको भनाई छ ।

‘बाहिर आएका समाचार सबै फेक हुन् । हामी पार्टीमा असन्तुष्टि छैनौँ । अर्को कुरा हामी असन्तुष्ट छौँ भनेर कतै बोलेका पनि छैनौँ |

‘एमालेको १० औँ महाधिवेशनबाट नेतृत्व चयन पछि जुन निर्णय भएका छन् । ती निर्णयहरू सही छन् भन्ने हामी सबैकाे धारणा हाे। त्यो भन्दा बाहिर हामीले अहिले सोचेका छैनौँ । अब प्रदेशको सम्मेलन हुन बाँकी छ । त्यसकारण हालसम्म जुन पार्टीमा निर्णय भएका छन् । हामी सामान्यतया त्यसमा सन्तुष्ट नै छौँ ।’

त्यसैगरी माओवादीबाट नै नेकपा एमालेमा प्रवेश गरेका नेता टोप बहादुर रायमाझीले पनि आफूहरू पार्टीमा असन्तुष्ट नरहेको बताए । उनले पार्टीमा कहिले काहीँ तलमाथि हुनु सामान्य विषय भएको समेत बताए । नेता रायमाझीले भने, ‘हामी असन्तुष्ट छौँ भन्ने जुन समाचार बाहिरिएका छन् ती सबै फेक हुन् । अव पार्टीमा कहिले काही तलमाथि भइहाल्छ । हामी नेकपा एमालेले गरेका पछिल्ला निर्णयहरू प्रति सहमत नै छौँ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ