सुदूरपश्चिमका ८७ स्थानीय तहमा बैंक विस्तार


कैलाली :  सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्था विस्तार भइसकेको छ। बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा भने बैंक स्थापना हुन नसकेको हो।

सो गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने बजेटमार्फत सरकारले घोषणा गरेको छ। साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा विस्तार गर्ने अन्तिम तयारी गरेको हो। त्यसका लागि बैंकले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेकोे बैंकका बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले बताए। छिट्टै शाखा विस्तार गर्न सकेमा साइपालमा बैंक शाखा विस्तार गर्ने एभरेष्ट नै पहिलो बैंक हुनेछ।

राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो। सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले शाखा खोलेको थिएन। अब भने पूर्वाधार विस्तार हुँदै जाँदा बैंकले शाखा विस्तारका लागि सक्रियता बढाएको हो। आगामी आर्थिक वर्षको बजेटमा सरकारले साइपालमा बैंक शाखा पुगाउने घोषणा गरेको छ।

साइपालबाहेक सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेको छ। यस पटकको बजेटमा सरकारले साइपालमा बैंक शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेकाले अब बैंक पुग्ने अपेक्षा गरिएको साइपाल गाउँपालिका प्रमुख मानविर बोहराले बताए। संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपाल गाउँपालिकामा पुगेको थिएन।

आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य छन्। साइपाल गाउँपालिकाका प्रतिनिधिले यसअघि आफ्नो गाउँपालिकामा शाखा विस्तार गर्न बैंकहरूलाई आग्रह गर्दै आए पनि सफल भइसकेको थिएन।

बैंक स्थापना गर्न सकिने–नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङसहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो। सो टोलीले साइपालमा बैंक स्थापना गर्न सम्भव भएको निष्कर्ष निकालेपछि यसतर्फ काम अगाडि बढाइएको हो।

अहिले बैंकले साइपालमा शाखाका लागि आवश्यक पूर्वाधार बनाउन सामान लैजान सुरू गरिसकेको छ। एक साताअघि गभर्नर महाप्रसाद अधिकारीले पनि अब छिट्टै साइपालमा बैंकको शाखा विस्तार हुने बताएका थिए। त्यसपछि एभरेष्ट बैंकले साइपालमा बैंक विस्तारका लागि सक्रियता देखाएको छ। केही समयमै साइपालमा एभरेष्टको बैंक पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख बोहराले बताए।

एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्माले शाखा विस्तारका लागि साइपालमा स्थलगत अवलोकन समेत गरिसकेको र अहिले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको बताए। साइपालमा अहिले पुराना घरहरू रुपान्तरण भएर नयाँ पक्की घर बन्ने क्रममा छन्। इन्टरनेटको पनि पहुँच पुगेकाले शाखा विस्तार गर्न पूर्वाधारहरू तयार भइरहेको उनले बताए।

अहिले सरकारी कारोबार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको उनले बताए। अब स्वीकृति प्राप्त भइसकेपछि शाखा विस्तारको कामले मूर्त रूप पाउने उनको भनाइ छ। साइपाल गाउँपालिका कार्यालय वडा नम्बर ३ मा छ। बैंकको शाखा कार्यालय वडा नम्बर १ मा राख्ने तयारी भइरहेको अध्यक्ष बोहराले बताए। तीन हजारभन्दा बढी नागरिक साइपाल गाउँपालिकामा बसोबास गर्छन्। उनीहरूमध्ये करिब ७ सयले मात्रै विभिन्न कामको शिलशिलामा बैंक खाता खोलेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ