भुटानमा आज आमनिर्वाचन : युवाको विदेश पलायन मुख्य मुद्दा


हिमाली राज्य भुटानमा मंगलबार आमचुनाव हुँदै छ । करिब आठ लाख जनसंख्या भएको यस भूपरिवेष्टित देशमा मतदानका लागि मतदातालाई कैयौँ माइल टाढादेखि पैदलयात्रा गर्नुपर्ने बताइएको छ । यस चुनावमा देशको सुस्ताउँदै गएको अर्थतन्त्र, उच्च बेरोजगारी, युवाहरूको विदेश गमन प्रमुख मुद्दा बनेको छ । ‘हाम्रा युवालाई थप रोजगारी दिनुस् । नयाँ सडक वा पुल अहिले हामीलाई चाहिएको छैन,’ ४६ वर्ष किसान किन्ले वाङचुकले एएफपी समाचार एजेन्सीले भने ।

विश्व बैंकका अनुसार भुटानको युवा बेरोजगारी दर २९ प्रतिशत रहेको छ भने गत पाँच वर्षको आर्थिक वृद्धिदर औसत १.७ प्रतिशतले झरेको छ । उच्च बेरोजगारी तथा आर्थिक सुस्तताका कारण युवा राम्रो आर्थिक र शैक्षिक अवसरको खोजीमा विदेश जाने गरेका छन्, जुन गत निर्वाचनदेखि ह्वात्तै बढेको छ । भुटानी युवाहरूको मुख्य गन्तव्य अस्ट्रेलिया हुने गरेको छ । एक स्थानीय पत्रिकाअनुसार गत जुलाईपछिका १२ महिनामा करिब १५ हजार भुटानीले अस्ट्रेलियाको भिसा पाए । यो देशको कुल जनसंख्याको झन्डै दुई प्रतिशतभन्दा बढी र पछिल्लो ६ वर्षको कुल संख्याभन्दा बढी हो ।

ठूलो संख्यामा युवाको विदेश पलायनको मुद्दा चुनावमा लडिरहेका दुई प्रमुख दलले जल्दोबल्दो रूपमा उठाएका छन् । भुटान टेन्डरेल पार्टी (बिटिपी) का नेता पेमा चेवाङले युवा पलायनमार्फत देशले ‘राष्ट्रको क्रिम’ गुमाइरहेको बताए । ‘यदि यो प्रवृत्ति जारी रह्यो भने देशका गाउँ खाली हुनेछन्,’ ५६ वर्षीय पूर्वनिजामती कर्मचारी चेवाङले भने । उनका प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री तथा पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) का अध्यक्ष ५८ वर्षीय छिरिङ तोब्गेले भुटानको ‘अभूतपूर्व आर्थिक चुनौती र ठूलो संख्यामा युवा पलायन’प्रति चिन्ता व्यक्त गरे । उनको पार्टीको घोषणापत्रले सरकारी तथ्यांकलाई उद्धृत गर्दै देशका प्रत्येक आठजनामध्ये एकजनाले ‘खाना र अन्य आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेको’ कुरा समेटिएको छ ।

उच्च बेरोजगारी तथा आर्थिक सुस्तताका कारण युवा राम्रो आर्थिक र शैक्षिक अवसरको खोजीमा विदेश जाने गरेका छन्

आर्थिक प्रतिबद्धता
भुटानको अर्थतन्त्रको सानो हिस्सा तर विदेशी मुद्राको मुख्य स्रोत रहेको पर्यटन क्षेत्र कोरोना भाइरस महामारीको असरबाट अझै तंग्रिन सकेको छैन । गत वर्ष, सरकारले यस उद्योगलाई पुनरोत्थान गर्न विदेशी आगन्तुकले तिर्नुपर्ने दैनिक शुल्कमा कटौती गर्‍यो । यी सुधारका बाबजुद सन् २०२३ मा भुटान आउने विदेशी पर्यटकको संख्या कोरोनाअघिको भन्दा एकतिहाइ मात्र थियो ।

अघिल्लो सरकारले अर्थतन्त्रलाई विविधीकरण गर्न भारतीय सीमामा विशेष आर्थिक क्षेत्र बनाउनेदेखि सिंगापुरको एक कम्पनीसँग मिलेर क्रिप्टोकरेन्सी–खनन योजनाका लागि कोष संकलन गर्ने परियोजना अघि सा¥यो । दुवै दलले देशको प्रमुख आयस्रोत जलविद्युत्मा लगानी बढाउने वाचा गरेका छन् ।

बिटिपीको घोषणापत्रमा हाल निर्माण भएका जलविद्युत् योजनाहरू देशको क्षमताको १० प्रतिशत मात्र रहेको बताएको छ । पिडिपीले उच्च रोजगारी सिर्जना गर्ने स्टिल, सिमेन्ट र अन्य सहयोगी उद्योगको विकास गर्ने वाचा गरेको छ । भुटानको पहाडी उपत्यका र प्रचुर जलस्रोतले जलविद्युत् विकास र त्यसलाई कोइलाबाट बन्ने बिजुलीमा निर्भर छिमेकी भारतमा निर्यातका लागि ‘आदर्श अवस्था’ सिर्जना गरेको विश्व बैंकले बताएको छ । भुटानका वर्तमान राजाको शासनपछि उनले सुरु गरेको सुधारअन्तर्गत दुई सदनात्मक संसद् स्थापना गरिएपछि देशमा पहिलोपटक सन् २००८ मा आमनिर्वाचन भयो ।
– अलजजिराबाट



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ