एसियाली देशहरूको अन्तरदेशीय वित्तीय कारोबारलाई ब्लकचेन प्रविधिमार्फत जोड्ने एडीबीको घोषणा


काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले एसियाली र प्यासिफिक क्षेत्रको अन्तरदेशीय वित्तीय कारोबारलाई थप सुरक्षित बनाउन ब्लकचेन प्रविधिको माध्यम प्रयोग गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । यसका लागि अहिले ब्लकचेन कम्पनीहरुसँग काम गरिरहेको पनि एडीबीले जनाएको छ ।

एसियाका सबै देशहरुका केन्द्रीय बैंक र धितोपत्र कम्पनी तथा नियामकहरुलाई ब्लकचेन नेटवर्कमा आवद्ध गराउने योजना एडीबीले बुधबार सार्वजनिक गरेको हो । आसियन प्लस थ्री (‘एसोसिएसन अफ साउथइस्ट एसिएन नेसन्स’ र अरु तीन देशहरु जापान, चीन र दक्षिण कोरिया) देशहरुमा ब्लकचेन प्रविधिमा आधारित अन्तरदेशीय वित्तीय कारोबारलाई अझ बढी सहज, गुणस्तरीय र भरपर्दो बनाउन लागिएको एडीबीले जनाएको छ ।

‘एसिया र प्रशान्त क्षेत्रमा सबै देशहरुका केन्द्रीय बैंक तथा सम्बन्धित वित्तीय कारोबार नियामक संस्थाहरुलाई ब्लकचेन प्रविधिमा जोड्दा कारोबार शुल्क घट्ने र सेटलमेन्ट रिस्क पनि कम हुने’ एडिबीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आसियन प्लस थ्री देशहरुमा एक देशबाट अर्को देशमा हुने वित्तीय कारोबार अहिले युरोप तथा अमेरिकाका विभिन्न निकायहरुमार्फत जाने गरेको छ । जसकारण यस्तो कारोबारको सेटलमेन्टका लागि २ दिनसम्म लाग्ने गरेको छ । तर एडीबीले अहिले कार्यान्वयनमा ल्याउन लागेको अवधारणाबाट वास्तविक कारोबार समयमा नै त्यसको सेटलमेन्ट गर्न सकिने जनाइएको छ ।

एडीबीले यो कार्यक्रम दुईवटा चरणमा कार्यान्वयन गर्नेछ । पहिलो, आगामी मार्च २०२२ सम्ममा यो प्रविधिको डिजाइनसँग सम्बन्धित कामहरु गरिनेछ । दोस्रो चरणमा आसियन प्लस थ्री देशहरुमा यसको कार्यान्वयनका लागि सम्बन्धित देशका सरकारी अधिकारीहरु, केन्द्रीय बैंक, धितोपत्र कारोबारसँग सम्बन्धित नियामक निकायसँग समन्वय र सहकार्य गरिने एडीबीले जनाएको छ ।

यो कार्यक्रम कार्यान्वयनका लागि एडीबीले सफ्टवेयर कम्पनीहरु कन्सेन्सेज, फुजित्सु, आर३ र सोरामित्सुसँग समन्वय गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । केन्द्रीय बैंकहरुमा डिजिटल करेन्सीबारे पनि अध्ययन गरिनेछ । ब्लकचेन एक वितरित डाटाबेस हो जसले कम्प्युटर नेटवर्कहरुबीच सूचनाको आदान प्रदानका लागि बाटो (पाथ वे) सिर्जना गर्छ । ब्लकचेनले डाटाहरु विद्युतीय रुपमा भन्डारण गरेर राख्नका लागि सहयोग गर्छ । ब्लकचेन डिजिटल मुद्रा र क्रिप्टोसँग सम्बन्धित कारोबारलाई व्यवस्थापन गर्नका लागि विश्वव्यापी रुपमा प्रयोग भइरहेको प्रविधि हो ।

आजको कान्तिपुर दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ