फेब्रअरी २८ भित्र एमसीसी पारित गर्नुपर्ने भन्दै दबाव

एमसीसी संसदबाट पारित गर्न दबाव दिंदै अमेरिका

अमेरिकी सहायक विदेशमन्त्री डानाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुसंग टेलिफोन वार्ता


काठमाडौं ।  अमेरिकी सहायक विदेशमन्त्री डानाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुसंग टेलिफोन वार्ता गरेका छन् । एमसीसी संसदबाट पारित गर्न ढिलाई भइरहेका बेला सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग टेलिफोन वार्ता गरेका हुन ।

सहायक विदेशमन्त्री लुलेले एमसीसी परियोजना नेपाल र नेपाली जनताको हितका लागी भएको भन्दै पुर्व समझदारीअनुसार पारित नहुनुको कारणबारे जानकारी मागेका थिए । उनले एमसीसी अनुदान फिर्ता भए त्यसमा चिनियां हस्तक्षेपको कारण रहने बताएको स्रोतको दावी छ । यसअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले पांच महिनाभित्र एमसीसी पारित गर्ने भन्दै लिखित पत्र पठाएका थिए । तर, दाहालले एमसीसी संशोधन विना पारित गर्न नहुने अडान राखेसंगै अमेरिकी अधिकारीहहरु सक्रिय भएका हुन ।

यसै साता मात्र अमेरिकी राजदूत रेण्डी बेरिले प्रमुख पार्टीका शिर्ष नेताहरुसंग भेटवार्ता गरेका थिए भने एमसीसी उपाध्यक्षलगायत उच्च अधिकारीहरुले नेपाली नेताहरुसंग टेलिफोन संवाद गरेको खुलेको छ ।लुले एमसीसी अनुमोदन नभए त्यसले नेपाललाई अफ्ठेरो पर्न सक्ने चेतावनी दिएको स्रोतको दावी छ । जवाफमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नको लागी दलहरुबीच छलफल जारी रहेको भन्दै एमसीसी चांडै संसदबाट पारित हुने बताएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

दाहालले भने एमसीसीबारे जनमत विभाजित रहेको भन्दै त्यसबारेमा छलफल जारी रहेको बताएका थिए । उनले चुनावपछी एमसीसी पारित गर्दा राम्रो हुने सुझाव दिएको उनी निकट स्रोतले भन्यो । तर, लुले भने अव तीन साता भन्दा पर सार्न नसकिने बताएका थिए ।

यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारले पनि फेब्रअरी २८ भित्र एमसीसी पारित गर्नुपर्ने भन्दै दबाव दिएकी थिईन । उनले एमसीसी नेपालले संसदबाट पास नगरे परियोजना अरु देशमा जाने चेतावनी दिएकी थिईन ।

एमसीसी अघि बढाउनेबारे सत्तारुढ दलभित्रै बिबाद छ । सत्तारुढ दल नेपाली कांग्रेस एमसिसी पारित गर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने यथास्थितीमा एमसीसी पारित नगर्ने पक्षमा छ । प्रमुख प्रतिपक्ष दल एमालेले भने एमसीसीबारे मुख खोलेको छैन । सड्कमा एमसीसीविरुद्ध चर्को विरोध सुरु भइसकेको छ ।

एमसीसीलाई संसदमा टेबल गर्न दिने र माओवादी केन्द्र र एकीकृत समाजवादीले संसद बैठक बहिस्कार गरेर कांग्रेस र लोसपाका सांसदहरुले एमसीसी पारित गर्ने र सत्ता गठबन्धन जोगाउनेमा पनि छलफल चलिरहेको छ । तर,सभामुख अग्नी सापकोटाका भुमिका भने अझै स्पष्ट भएको छैन । एमालेले समेत संसद बैठक चल्न दिने, नदिने त्यसबारेमा कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

पछिल्लो समय एमसीसी पारित गर्न अमेरिकी अधिकारीहरु सक्रिय भएका छन् । उनिहरुले विभिन्न दलका नेता र सरकारी अधिकारीहरुलाई टेलिफोन गरेर एमसीसी फिर्ता जाने अवस्था आए त्यसले नेपाललाई ठुलो असर पर्ने धम्की दिइरहेको स्रोतको दावी छ । उनिहरुले चीनको दबाबका कारण एमसीसी संसदबाट पारित हुनबाट रोकिएको आरोप लगाइरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ