अनेरास्ववियुको महाधिवेशन :अध्यक्षमा समिक र आरसी, महासचिवमा घर्ती र आचार्य मुख्य प्रतिस्पर्धी


काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेले भातृ संगठनहरुका महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टीका जनवर्गिय संगठनहरु सुस्त भएको भन्दै एमालेले समयमा नै महाधिवेशन गर्ने तयारी गरेको हो । पार्टीका जनवर्गिय संगठनहरु हेर्ने नेताहरुले पार्टीको अधिवेशन समयमा गर्ने र नेतृत्व चयन समेत प्रतिस्पर्धाबाट गर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

एमालेको सबैभन्दा चलायमान संघठन अनेरास्ववियुले समेत २३ औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । अखिलले यहि फागुन २–४ सम्म काठमाण्डौमा महाधिवेशनको आयोजना गर्दैछ । अखिलमा अहिले अध्यक्ष सुनिता बराल छिन् । उनि पार्टीको केन्द्रीय सदस्य र प्रतिनिधिसभामा सांसद भएपछि नयां नेतृत्व चयन हुने भएको छ ।

नयां नेतृत्वका लागि अहिले महासचिव समिक बडाल र वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने प्रतिस्र्धामा छन् । बडाल काभ्रे र लामिछाने गोरखाका बासिन्दा हुन् । बडाललाई एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाको साथ छ भने लामिछाने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छन् । दुवै नेताले आफु निकट नेतालाई अध्यक्ष बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरिरहेका छन् । अध्यक्ष ओलीको समेत बडालप्रति सदभाव रहेको अखिल वृतमा चर्चा छ । हालकी अध्यक्ष बराल समेत बडालकै पक्षमा छिन् ।

लामिछानेले विद्यार्थी आन्दोलनमा लामो समय काम गरेको भएपनि उनले खासै क्षमता देखाउन नसकेको र उमेरको हिसावले समेत अखिलको नेतृत्वमा ल्याउंदा विद्यार्थी आन्दोलन प्रभावकारी नहुने बहस एमालेभित्र छ । उनलाई विदा गरेर पार्टीको जिम्मेवारीमा ल्याउने सम्भावना बढी छ । सहमति नभए निर्वाचनमा जांदा समेत बडाल नै बलियो भएको अखिल वृतमा चर्चा छ ।

अखिलमा २०७२ साल फागुनपछि अहिलेसम्म महाधिवेशन हुन् सकेको छैन । अखिलको २२ औँ राष्ट्रिय महाधिवेशनमा दिपक गौतमलाई पराजित गरेर नविना लामा अध्यक्षमा निर्वाचित भएकी थिईन । त्यसयता अखिलमा महाधिवेशन नभएको भन्दै यसपटक महाधिवेशन गर्ने र नेतृत्वको चयन समेत प्रतिस्पर्धाबाट गर्ने तयारी छ । यद्यपी नेतृत्वको यसमा अहिलेसम्म ग्रिन सिंग्नल आइसकेको छैन् ।

फागुनमा महाधिवेशन गर्ने घोषणासंगै अखिलका नेता कार्यकर्ताहरु अहिले चुनावी तयारीमा जुटेका छन् । उनिहरुले संगठनको नेतृत्व टिका लगाएर गर्न नहुने दबाव नेतृत्वलाई दिइरहेका छन् । तर, नेतृत्वले अध्यक्ष र महासचिव पदमा सहमतिमा नेतृत्व टुंगो लगाउने सम्भावना समेत रहेको स्रोत बताउंछ ।

अखिलमा आचार्य र बडालसंगै अध्यक्षका लागि वाङछु योञ्जन, लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य र मोति विक समेत प्रतिस्पर्धामा छन् । अध्यक्षमा दावि गर्ने निरौला,आर्चाय,विक र खत्री उपाध्यक्ष हुन् । अध्यक्ष नभएको अवस्थामा मोति विकले महासचिवमा प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

त्यसैगरी महासचिवमा सुर्दशन सिवकोटी, नारायण घर्ती, गोबिन्द गिरी,भाष्कर खनाल र नरेश रोकाया प्रतिस्पर्धामा छन् । तिमध्ये सिवाकोटी, घर्ती र रोकाया सबैभन्दा बलियो दावेदार रहेको बताइन्छ । घर्तीलाई एमाले अध्यक्ष , सिवाकोटीलाई भानुभक्त ढकाल र रोकायालाई महासचिव शंकर पोखरेल र नेता कर्ण थापालागायतको सहयोग छ ।

अखिलमा यसअघि केन्द्रीय कमिटीको संख्या ५ सय ३३ रहेको थियो भने पदाधिकारीको संख्या यसअघि ३२ जनाको थियो । अहिले केन्द्रीय समिति १ सय ९९ र पदाधिकारी समेत १७ जनाको मात्र भएकाले नेताहरुको व्यवस्थापन चुनौतिपूर्ण हुंदै गएको छ । त्यसैमाथि अहिले स्थायी र सचिवालय सदस्य रहेका धेरैले पदाधिकारीमा दावि गर्ने भएकाले समेत नेताहरुलाई उनिहरुको व्यवस्थापन गर्न अफ्ठेरो परेको हो ।

अहिले अखिलको विधानमा अध्यक्ष र महासचिव बाहेक उपाध्यक्ष ४, सचिव १० (७ खुल्ला जसमा ३ महिला अनिवार्य ) र एक कोषाध्यक्ष रहेको छ । उपाध्यक्षमा तपेन्द्र शाही, एल बि सिंह, मर्यादा बिष्ट, डम्बर अधिकारी, जेनिस लामा र रामशरण चौधरीले दावी गरिरहेका छन् ।

सचिवका लागि स्थायी कमिटी सदस्यहरु तथा सचिवालय सदस्यहरु धेरै दावि गरिरहेका छन् । तिमध्ये अन्जु पाण्डे, अन्जना सिवाकोटी,पंकज भण्डारी,सन्तोष राना, एलिशा गौतम,प्रकाश पौडेल, इन्द्र पौडेल, आर्शिवाद सुवेदी र मनोज राईलगायत मुख्य प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा भने सजिना थापा मगर, सुजन कार्की,प्रज्ज्वल फुँयाल, सन्जिव धिताल लगायतले तयारी गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ