जनमत पार्टीले खानेपानी मन्त्रालयमै चित्त बुझायो


काठमाण्डु- जनमत पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अब्दुल खानले आज खानेपानी मन्त्रालयको कार्यभार सम्हालेका छन् । विना विभागीय मन्त्रीका रुपमा पुस १० गते सपथ ग्रहण गरेको ठिक एक महिना पछि उनले खानेपानी मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर सहमतिअनुसार उद्योग मन्त्रालय नपाएका कारण मन्त्री खानले खानेपानी मन्त्रालय अस्वीकार गरेका थिए ।

तर, आज उनले पदभार ग्रहण गरेका हुन् । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पारेका छन् ।

उद्योग मन्त्रालय पाउनुपर्छ भन्दै जनमत पार्टीले एक सातादेखि प्रधानमन्त्री प्रचण्डसँग वार्ता र छलफल गर्दै आएको थियो । तर उद्योग मन्त्रालयमा सहमति हुन सकेन । जनमत पार्टीले उद्योग मन्त्रालय नभए खानेपानी मन्त्रालयसँग थप कुनै एउटा मन्त्रालय दिए मात्र सरकारमा सहभागी हुने अडान राख्दै आएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ