नागरिक उन्मुक्ति तटस्थ बसेपछि सुदुरपश्चिममा आज पनि सभामुख चयन हुन सकेन


कैलाली – सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी कुनै प्रक्रियामा सहभागी नभएपछि सुदूरपश्चिममा आज पनि सभामुख चयन हुने सम्भावना कम भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले गठबन्धनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो पार्टी तटस्थ बन्ने जनाएका छन् । उन्मुक्ति तटस्थ बसेसंगै आज पनि सभामुखमा कसैको बहुमत नपुग्ने अवस्था भएको हो । नागरिक उन्मुक्तिका प्रदेशसभामा ७ सांसद छन् । उनीहरु कतै नलाग्दा कुनै पनि गठबन्धनमा बहुमत पुग्दैन ।

सुदुरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १० , नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

काङ्ग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैतर्फ बहुमत नपुग्ने भएकाले उसको भुमिका निर्णायक छ ।

गठबन्धनमा आवद्ध एमाले, माओवादी र राप्रपाको मत जोड्दा जम्मा २२ हुन्छ । उता,कांग्रेसको गठबन्धनमा समेत २३ मत हुने र बहुमतको लागि २७ सांसद आवश्यक भएकाले आज पनि सभामुख चयन हुने सम्भावना कम भएको हो ।

सत्ता गठबन्धनमा नागरिक उन्मुक्तिका ७ जनाले कतै मत नदिँदा सत्ता गठबन्धनमा २२ जना मात्रै हुन्छ । यता कांग्रेस नेकपा एकीकृत समाजवादी तर्फ पनि नागरिक उन्मुक्तिले मत नदिँदा २३ मत पुग्छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बिहिवार पनि कसैले बहुमत नपाएपछि सभामुख चयन हुन सकेको थिएन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ