कंचनपुरमा विनामाथि तारा हावी : कांग्रेसकै कार्यकर्ता विरोधमा लागेपछि आरजु कंचनपुर जांदै


कंचनपुर – कंचनपुरमा पार्टीबाट टिकट नपाएपछि धेरै उम्मेदवार स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभाको ३ र प्रदेशसभाको ६ वटा क्षेत्र भएको कंचनपुरका सबै क्षेत्रमा बागि उम्मेदवार चुनावामा होमिएका छन् ।

कंचनपुरको क्षेत्र नम्बर १ मा संघमा एमालेबाट तारा लामा तामाङ र गठबन्धनबाट माओवादी नेतृ प्रतिस्पर्धामा छिन् । संघमै एमालेबाट टिकटका दावेदार रहेका खेम सुवेदी स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । तर, सुवेदीको प्रभाव भने निकै कम छ । यही क्षेत्रका स्थानीय भएपनि सुवेदीले धेरै पहिले आफ्नो घर बेचेर अन्यत्र सरिसकेकाले पनि उनलाई धेरैले टुरिस्ट उम्मेदवार भनिरहेका छन् ।

रेशम चौधरीकी श्रीमति रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट नन्दकुमार राना चुनामी मैदानमा छन् । राना उम्मदेवार भएपछि सबैभन्दा बढी बेलौरी नगरपालिकामा रहेका राना थारुको मत काट्ने सम्भावना छ । त्यसले गठबन्धनकी उम्मेदवार विना मगरलाई घाटा हुने आंकलन गरिएको छ । किनभने मगरको सबैभन्दा बलियो क्षेत्र भनेको नै बेलौरी नगरपालिका हो ।

प्रतिनिधिसभामा झै प्रदेशमा समेत धेरै बागि उम्मेदवार बनेका छन् । दुई वटा प्रदेश रहेको यो क्षेत्रमा प्रदेश १ बाट वीरबहादुर थापा चुनावी मैदानमा उत्रिएका छन् । थापा नेकपा कालमै जिल्ला अध्यक्ष थिए । उनि कंचनपुरमा सबैभन्दा लामो समय ७ वर्ष जेल परेका नेता हुन् । पुर्नवास नगरपालिका र लालझाडी गाउंपालिका गरेर दुई स्थानीय तह भएको यो क्षेत्रमा थापाले जित्ने आंकलन गरिएको छ । लालझाडी एमालेले जितेको क्षेत्र हो भने पुर्नवासमा पनि एमालेको बलियो पकड छ ।

कांग्रेसबाट उम्मेदवार बन्धु राना छन् । उनलाई कांग्रेसभित्रै स्थानीय तहको निर्वाचनमा अन्र्तघात गरेको आरोप लागेको थियो ।

उनको क्षेत्रबाट पनि भक्त अधिकारी उम्मेदवार बनेका छन् । उनि एमालेका नेता हुन् । अधिकारीले केही वडामा मत काटेपनि धेरै प्रभाव भने उनको देखिएको छैन् । माओवादी पृष्ठभुमिका थापाले माओवादीकै भोट पनि पाउने सम्भावना धेरै रहेको छ । अधिकारीको पृष्ठभुमि भने निकै विवादित छ । उनि ०५४ मा एमालेबाट गाउंपालिका अध्यक्ष निर्वाचित भएका थिए । गाविस अध्यक्ष हुंदा अनियमितता गरेको आरोप उनिमाथि छ ।

क्षेत्र नम्बर १ को प्रदेश २ मा भने एमालेका उम्मेदवार पल्लवराज भट्ट र गठबन्धनका उम्मेदवार कांग्रेस नेता दिवान विष्टबीच प्रतिस्पर्धा छ । विष्ट संविधानसभा सदस्य हुन् भने भट्ट भने एमालेको जिल्ला सचिव हुन् । विष्ट र भट्ट दुवै बेलौरी नगरपालिकाका बासिन्दा हुन् । भट्ट ०७४ मा एमालेबाट स्थानिय तहको मेयरको उम्मेदवार भएपनि पराजित भएका थिए । उता एमालेबाट बागि उम्मेदवारको रुपमा टेक साउंद चुनावी मैदानमा छन् ।

लालटिन चिन्ह् लिएर चुनावी मैदानमा रहेका साउंदलाई डडेल्धुरा समुदाय र राना थारुहरुको समेत साथ रहेको चर्चा छ । माओवादी केन्द्रका पुर्व जिल्ला अध्यक्ष खड्क बहादुर बस्नेत समेत बेलौरीमा उनको समर्थनमा लागेका छन् ।

बेलौरीबाटै तिन उम्मेदवार चुनावी मैदानमा भएपनि बेल्डाडीबाट भने राप्रपाबाट धीरज सिंह प्रदेशमा चुनाव लडिरहेका छन् । सिंह बझाङगी समुदायबाट प्रतिनिधित्व गर्ने र बेल्डाडीबाट एकल उम्मेदवार भएकाले त्यसको फाइदा उनलाई समेत हुने देखिन्छ । यो अवस्थामा पार्टीको मत मात्र सुरक्षित गर्न सक्ने भट्टले जित्न सक्ने विश्लेषण पनि हुन थालेको छ । उनलाई दार्चुला र बैतडी समुदायको साथ छ ।

प्रतिनिधिसभामा भने मगरभन्दा लामामै अवस्था बलियो बन्दै गएको बताइन्छ । प्रदेशको छोटो समय अर्थमन्त्री रहेका लामाले आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट विनियोजन गरेको र अहिलेसम्म कुनै विवादमा नआएकाले लामालाई सहज भएको एमाले कार्यकर्ताहरु बताउंछन् । उता मगर भने लामो समय सांसद र मन्त्री पदमा रहेको र यो क्षेत्रको विकासका लागि कुनै काम नगरेको भन्दै आलोचित छिन् ।

गठबन्धनको मतको हिसावले अघि रहेकी मगरलाई कांग्रेस र माओवादीकै कार्यकर्ताहरुले समेत आलोचना गरिरहेका छन् । उनि निर्वाचित भएपछि आफ्नो क्षेत्रमा फर्केर नआएको धेरैको गुनासो छ । गठबन्धन भएपनि कांग्रेसबाट आफुलाई समर्थन नभएको आभाष भएपछि मगरकै आग्रहमा प्रधानमन्त्री पत्नी समेत रहेकी आरजु देउवा समेत उनको क्षेत्रमा आउने कार्यक्रम तय भएको स्रोत बताउंछ ।

कांग्रेसकै कार्यकताले मगरलाई कुनै हालतमा भोट दिन नसकिने भन्दै यो क्षेत्रमा अभियान चलाइरहेका छन् । मगरले आफु जित्नकै लागि प्रदेशमा एक सिट माओवादीको भागमा परेपनि दुवै प्रदेशमा नेपाली कांग्रेसलाई सिट लिन आग्रह गरेकी थिईन । अहिले माओवादी र समाजवादीभित्र समेत उनको यो निर्णयको विरोधमा धेरै कार्यकर्ता छन् ।

‘यो क्षेत्रमा गठबन्धन भनेर मात्र हुंदैन । अव जनता सचेत भइसकेका छन् । पांच वर्ष सांसद र तिन वर्ष मन्त्री भएर उहां (मगर)ले केही गर्नुभएन । अव पनि केही गर्नुहोला भन्ने आशा छैन । यसपटकको भोट हामी केही गर्नेलाई दिन्छौं ।’ बेल्डाडीका स्थानीय भोगिलाल रानाले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ