पहिलाे पटक संसद छिर्ने प्रयासमा एमालेका यी युवा, पाउलान् टिकट ?


काठमाण्डु – युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला नेकपा एमालेले यसपटक संघीय संसदमा प्रत्यक्ष र समानुपातिकतर्फ नयाँ र युवा अनुहारहरूलाई समेटेको छ।

देशको बागडोर पुराना नेताहरुले सम्हालिरहेका बेला एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको पहलमा केही युवाहरु मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका हुन् ।

गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा युवा तथा स्वतन्त्र उम्मेदवारले देशैभरि राम्रो नतिजा निकालेपछि आगामी मंसिरमा हुने चुनावमा पनि युवाको आकांक्षा बढेको छ । पछिल्लो समय नेतृत्व लिन युवा पुस्ता सक्रिय रुपमा अघि सरेको छ ।

को–को छन सिफारिसमा ?

किरण पौडेल

युवा संघका अध्यक्ष पौडेल प्रतिनिधिसभातर्फ सिफारिसमा परेका छन् । उनी काठमाण्डु क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् । जिल्ला कमिटीले पौडेलसँगै विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराईलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो । पौडेल भने समानुपातिकमा बस्नका लागि लबिङ गरिरहेका छन् । निर्वाचन आयोगमा बुझाएको बन्दसूची संशोधन गर्ने अवधि असोज १६ गतेसम्म छ ।

प्रकाश लामिछाने

युवा संघका विदेश विभाग उपप्रमुख लामिछाने पनि प्रत्यक्ष चुनावका लागि टिकट लिने लबिङमा छन् । लामो समयदेखि एमाले सम्बद्ध युवा संघमा रहेर काम गरेका उनलाई पर्वतको प्रदेशसभा ‘क’बाट सिफारिस गरिएको हो । उनीसँगै एमालेका जिल्ला सचिव गोविन्द पहाडी, प्रदेश कमिटी सदस्य भक्त कुँवरको नाम सिफारिसमा छ ।

विनय शाह

युवा संघमा आवद्ध कैलालीका विनय शाहलाई जिल्ला कमिटीले धनगढी (ख)बाट सिफारिस गरेको छ । उनीसँगै यज्ञराज ढुंगाना, दुर्गा जोशी, खेमराज पाण्डेको नाम एमालेले सिफारिस गरेको छ ।

सन्तोष रावल

युवासंघ उपाध्यक्ष रावल म्याग्दीबाट सिफारिसमा परेका छन् । जिल्ला कमिटीले म्याग्दी १ (क)बाट उनको नाम सिफारिस गरेको हो । यही क्षेत्रबाट ४० वर्षमुनिका एमालेका अर्का नेता प्रकाश पौडेल पनि सिफारिसमा परेका छन्। । सोही स्थानका लागि एमाले म्याग्दी अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी सिफारिसमा परेका छन्।

अमित लामा

युवा संघकै अर्का युवा नेता लामा काभ्रेबाट सिफारिस भएका छन्। उनीसँगै प्रदेशसभाका लागि एमालेले काभ्रे १ (क)बाट केशव बडाल, विदुर सापकोटा, इन्द्र खुलाल, शान्ता न्यौपानेलगायतको नाम पनि छ ।

प्रकाश गौतम

अर्का नेता प्रकाश गौतम काठमाण्डु–१ (क) बाट सिफारिस भएका छन्। उनीसँगै एमालेबाट रामप्रसाद खमगाई, श्यामलाल तण्डुकार, ध्रुव केसी, नारायण पौडेल र बलिभद्र राजभण्डारीको नाम सिफारिस गरिएको छ ।

डीबी साउद

अनेरास्ववियुका उपाध्यक्ष साउद अछाम–१ (क)बाट सिफारिसमा परेका छन्। साउदसँगै त्यहाँ एमालेका नेताहरु बमबहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र सिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ ।

डम्बर अधिकारी

संगठन सचिव अधिकारी झापा ४ क बाट सिफारिस भएका छन् । त्यहाँ अधिकारीसँगै नीलकण्ठ तिवारी, राम ओली, भूपाल ओली, मोहनप्रसाद ओली, राजु कार्की, निर्मला गौतमलगायतको नाम सिफारिसमा छ ।

मर्यादा विष्ट

अर्का सचिव विष्ट कञ्चनपुर–१ (ख) बाट प्रदेशसभाका लागि सिफारिसमा परेकी छन् । कञ्चनपुर–१ (ख) बाट मर्यादासँगै पल्लवराज भट्ट, भिम थापा, बजारे चाैधरी, टेक साउदसहित १३ जना सिफारिस छन् ।

सूर्य रोकाय

रोकाय बाँके–१ (ख) बाट सिफारिसमा परेका छन् । उनीसँगै दुर्गा थारु, नरेन्द्र शर्मा र अनिता पौडेलको नाम पनि सिफारिसमा परेको छ ।

खुमराज कार्की

यसैगरी अखिलका स्थायी कमिटी सदस्य कार्की काठमाण्डु–६ (ख)बाट सिफारिसमा छन्। उनीसँग कृष्णप्रसाद अधिकारी, विश्वनाथ लामिछाने, सावित्रा शर्मालगायतको नाम सिफारिसमा छ ।

सिन्धुली २ (ख)बाट युवासंघका पुष्प श्रेष्ठ, रामकुमार पौडेल, गणेश उप्रेती, उद्धव गुर्जेली राईसहित सिफारिस गरी पठाइएको छ । सिन्धुली–१ (क)बाट अखिलका सचिवालय सदस्य लालबहादुर बुढाथोकीको नाम सिफारिसमा परेको छ । यस क्षेत्रबाट एमालेका अन्य नेताहरु घनश्याम राउत, डम्बर कार्की र हरिहर थापा सिफारिसमा छन् ।

पछिल्लो समय युवालाई नेतृत्व हाँक्न दिनुपर्ने चौतर्फी आवाज उठिरहेकाे छ । त्यसैले पनि एमाले सम्वद्ध यी दुई संगठनले ४० वर्षमुनिका सिफारिसमा परेका उम्मेदवारलाई टिकट दिलाउन लबिङ गरिरहेका छन् ।

एमालेभित्रै पनि स्थानीय निर्वाचनमा युवाहरुले जितेको र आम निर्वाचनमा पनि स्वतन्त्र युवाहरु प्रतिस्पर्धामा उत्रिन लागेका कारण युवालाई अघि सार्नुपर्ने एक पक्षको धारणा छ । तर, नेतृत्वले युवालाई विकल्पमा राखे पनि प्राथमिकतामा भने राखेको देखिँदैन ।

काे-काे छन् महिलातर्फको समानुपातिकमा ?

एमालेले केन्द्रीय पदाधिकारी तथा समानुपातिक सूचीबाट यसअघि सांसद भइसकेका नेता बाहेकलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

एमालेले महिलाको क्लस्टरमा पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई समानुपातिक सूचीमा राखेको छ। थापा एमाले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी हुन्।

यसैगरी केन्द्रीय सदस्य दीपा शर्मा, अनेरास्ववियुको अध्यक्ष सुनिता बराल, युवा संघ नेपालका उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, पूर्व केन्द्रीय सदस्य उमा कोइराला, भक्तकुमारी लामालाई पनि समानुपातिक सूचीमा राखिएको छ।

यस्तै कर्णाली प्रदेश सदस्य मेनका पछाई, झापा दमककी निरु पुलामी, दैलेखकी सूर्यकुमारी श्रेष्ठ, कालीकोटकी इन्दिरा सन्जेललाई पनि पार्टीले समानुपातिक सूचीमा राखेको छ। त्यस्तै हर्कमाया विक, अन्जु प्रसाईं बर्देवा लगायतलाई पनि एमालेले महिला तर्फको समानुपातिक सूचीमा राखेको छ।

 

प्रतिक्रिया दिनुहोस


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ