महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण हुँदै


महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण हुँदै

कन्चनपुर –नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो ।महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो ।

यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने छ । तर भारतले निर्माण गर्ने नहरको अझै टुङ्गो छैन । नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर निर्माण गर्ने भएको छ । महाकाली पारीको दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले शारदा बैराज (नहर)बाट सन्धिअनुसार पानी उपलब्ध गराउनुपर्ने छ ।

सन्धि भएको २७ वर्ष वित्दा समेत भारतले शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमासम्म भारतले एक हजार १०० मिटर मूल नहरसँगै अन्य संरचना समेत निर्माण गर्नुपर्ने हुन्छ । डेढ दशकअघिदेखि ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर निर्माण थाले पनि आयोजनाले पनि दोधारा चाँदनीतर्फ मूल नहर बनाउनुपर्ने विषय प्राथमिकतामा राख्न सकेको थिएन ।

पछिल्लो समय सिँचाइ आयोजना आफ्नो भूमिमा मूल नहर निर्माण गर्न अग्रसर भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितले दोधारा चाँदनीमा चालु आर्थिक वर्षमा नै नहर निर्माण गर्ने गरी तयारी भइरहेको बताए ।

“भारतीय पक्षले सन्धिअनुसार त्यहाँ बनाउनुपर्ने नहर र संरचना निर्माण गर्न कुनै सुरसार गरेको छैन”, उनले भने, “नेपाल–भारतका अधिकारीबीच हुने संयुक्त बैठकमा उक्त विषयमा छलफल हुने गरेको भए पनि निकास भने दिइएको छैन ।” सन्धिअनुसार भारतले दोधारा चाँदनीलाई तीन हजार ५०० हेक्टर क्षेत्रफलका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो । सन्धिको ४ नं बुँदामा दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउनुपर्ने विषय समेटिएको छ ।

“बुदा नं ३ मा पञ्चेश्वर परियोजनाको विषय रहेकाले बुँदागतरूपमा कार्यान्वयन गरौँ भन्नेमा भारतको जोड देखिन्छ”, सिँचाइ स्रोतले भन्यो, “पञ्चेश्वर नबन्दासम्म दोधारा चाँदनीलाई पानी दिने विषयमा भारतीय पक्ष तयार देखिँदैन ।” यता सिँचाइ आयोजनाले भने भारतमाथि दबाब बढाउन पनि आफ्नो भूमिमा एक हजार २०० मिटर मूल नहर निर्माणको काम अघि बढाउँदै छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ