कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको सम्भावना, यसरी पुग्दैछ बहुमत


काठमाण्डु – कोशी प्रदेशसभा गठन भएपछि ४ पटक मुख्यमन्त्रीको नियुक्ति भइसकेको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सुरुमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि माओवादीले समर्थन फिर्ता लिँदा उनले विश्वासको मत पाउन सकेनन् ।

त्यसपछि लगातार २ पटक नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए तर उनले विश्वासको मत पाउन सकेनन् । सर्वाेच्च अदालतको आदेशले उनी दुवै पटक पदमुक्त भए ।

त्यसपछि प्रदेश सभामा ठूलो दलको हैसियतले एमाले नेता कार्की पुनः मुख्यमन्त्री बने तर उनले पनि विश्वासको मत पाउन नसक्ने देखेर राजीनामा दिए ।

यतिबेला मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधानको धारा १६८(५) मा पुगेको छ । यस धाराअनुसार पनि मुख्यमन्त्री नियुक्ति र विश्वासको मत प्राप्त हुन नसके प्रदेशसभा विघटन भई निर्वाचनको मिति घोषणा हुनेछ । संकटको सन्निकट रहेको प्रदेश सभाबाट नयाँ सरकार दिन दलहरू प्रयासरत रहेका छन् ।

भावी मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता उद्धव थापा, कांग्रेस नेता केदार कार्की, एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बो, माओवादी नेताहरू जीवन आचार्य, दुर्गा चापागाईंको नाम चर्चामा आएको छ । यी नाममध्ये कांग्रेस नेता केदार कार्कीको सम्भावना बलियो रहेको कांग्रेसनिकट स्रोतको दाबी छ ।

नेता कार्की प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री हुन् । उनी कांग्रेसभित्र नेता डा. शेखर कोइराला पक्षधर मानिन्छन् । नेकपा एमालेका नेता कार्कीले विश्वासको मत नपाउने अवस्था रहेकाले एमालेले समेत कांग्रेस नेता कार्कीलाई समर्थन गर्नसक्ने बुझिएको छ । उच्च स्रोतका अनुसार नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेता डा. शेखर कोइरालाबीच समेत छलफल भइसकेको छ ।

डा. शेखरले कार्कीलाई मुख्यमन्त्री बनाउन सुरुमा सत्तारुढ गठबन्धनभित्रै सहमति जुटाउने प्रयास गर्नेछन् । यसका लागि उनले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरिसकेका छन् । डा. शेखरले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गठबन्धन कायमै राख्ने भएमा कार्कीलाई समर्थन गर्न आग्रह गरेका छन् । माओवादीले कार्कीलाई समर्थन नगरे कोशी प्रदेशबाट कांग्रेस–एमाले सहकार्यको नयाँ अध्याय सुरु हुने कोइरालाको चेतावनी रहेको स्रोतको दाबी छ ।

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा केन्द्रीय सत्ता गठबन्धनमा तरङ्ग आउने भएकाले पनि एमाले अध्यक्ष ओली कार्कीलाई मुख्यमन्त्री बनाउन सकारात्मक रहेका बताइएको छ । कांग्रेसभित्र कोशी प्रदेश सभामा डा. शेखर पक्षका १० सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरिसकेका छन् । नेकपा एमाले र राप्रपाका सांसदलाई जोड्दा कार्कीको पक्षमा स्पष्ट बहुमत पुग्ने अवस्था रहेको स्रोतले जनाएको छ ।

यसै समीकरणअनुसार कार्कीलाई मुख्यमन्त्री प्रस्ताव गरेर बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी भइरहेको छ ।

प्रचण्डले ज्वाइँलाई रोज्दा …

कोशीमा सरकार बनाउनेबारे एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच समेत छलफल भएको थियो । छलफलमा दल नेता आङ्बो, नेता दुर्गा चापागाईं र जीवन आचार्यको नाम आएको थियो ।

एमाले अध्यक्ष ओलीले दुर्गा चापागाईलाई समर्थन जनाउन सकिने बताए पनि प्रचण्डले ज्वाइँ आचार्यलाई नै मुख्यमन्त्री बनाउन चाहेपछि कुरा नमिलेको स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डसँग कुरा नमिलेपछि ओलीले डा. शेखरलाई ‘ग्रिम सिग्नल’ दिएका जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ