रूसी आक्रमणमा विश्वकै ठूलो विमान ‘म्रिया’ नष्ट


एजेन्सी – रूसी आक्रमणको क्रममा विश्वको सबैभन्दा ठूलो विमान युक्रेनमा नष्ट भएको छ । युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको विश्वकै ठूलो विमान ‘एन्टोनोभ एएन–२२५’ रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

सोे विमानलाई युक्रनी भाषामा ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ । ‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ । तर उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्नसक्ने छैनन् । हामी जित्नेछौं,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीटरमा लेखेका छन् ।

विमानको विनाशको पुरा विवरण भने आइसकेको छैन । एन्टोनोभ कम्पनीले एक ट्वीट गर्दै विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको प्राविधिक अवस्था प्रमाणित गर्न नसकिने बताएको छ । एन्टोनोभको व्यवस्थापन गर्ने युक्रेनी राज्य रक्षा कम्पनी युक्रोबोरोनप्रोमले आइतवार एक विज्ञप्ति जारी गरी विमान नष्ट भएको तर, यसको पुनर्निर्माण रुसकै खर्चमा हुने स्पष्ट पारेको छ ।

‘पुनर्निर्माणमा तीन अर्ब अमेरिकी डलर र पाँच वर्षभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
युक्रेनको उड्डयन र एयर कार्गो क्षेत्रलाई जानाजानी क्षति पु¥याएकाले रुसले नै लागत खर्च बेहोर्नुपर्ने कम्पनीको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ