दिपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य


काठमाडौं ।  पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको हो ।नेपालका लागि युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । उनको यो आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । १४० बलको सामना गरेका उनले ७ चौकासहित १०५ रन जोडे । दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडीसमेत बनेका छन् ।

यसअघि रोहित कुमार पौडेल र पूर्वकप्तान पारस खड्काले मात्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।त्यस्तै, ओपनर देव खनालले अर्धशतकिय पारी खेले। उनी ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो । साथै दीपेन्द्र र देवको साझेदारीले नयाँ किर्तीमानी कायम गरेको छ । उनीहरुले १२९ रनको साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ