सिद्धार्थ बैंकलाई कामना सेवा फुटसलको उपाधि


कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा शनिबार भएको फाइनल खेलमा सिद्धार्थले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा २-१ गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गर्नुभयो । माछापुच्छ्रेका अभय राना र सञ्जय रानामगरले गोल गर्नुभएको थियो । उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट गिफ्टह्याम्पर प्राप्त गरेको छ ।

प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर हुनुभयो । सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिन शेर्पा, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईलगायतले पुरस्कार प्रदान गर्नुभयो । कामना सेवा विकास बैंकले आयोजना गरेको प्रतियोगितालाई खेलपाटीले व्यवस्थापनमा गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ