सम्मानजनक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय, अर्थ मन्त्रालय नछाड्ने!


काठमाण्डु- नेपाली कांग्रेसले ठूलो पार्टीका हैसियतले सम्मानजनक संख्याका साथ सरकारमा जाने निणर्य गरेको छ ।

पार्टी सभापति निवास धुम्बाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निणर्य गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषदमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले सम्मानजनक संख्या पाउनुपर्ने बताए।

उनले कांग्रेसले पाउने संख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुंगो लागेपछि नाम पठाउने जानकारी दिए।

सरकारमा जान कांग्रेसले ८ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ। बैठकमा पार्टी उपसभापति पूणर्बहादुर खड्काले गत पुस १० यताको राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए। उनले सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको बताए।

खड्काले कांग्रेसले सात मन्त्रालय पाउने पक्काजस्तै भएको पनि बताएको श्रोतले बताएको छ । उनले सत्तारुढ दलहरु सात मन्त्रालय दिनका लागि तयार भएको तर कांग्रेसको दाबी आठ मन्त्रालयमा रहेको बताए ।

बैठकमा कस्को नेतृत्वमा सरकारमा जाने भन्ने बिषयमा पनि सामान्य छलफल भएको छ । उपसभापति पूणर्बहादुर खड्काको नेतृत्वमा सरकारमा जाने लभभग तय भएको छ। यद्यपी यसबारेमा औपचारिक निणर्य भने भएको छैन । आईतबार सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बस्ने र औपचारिक निणर् हुने एक पदाधिकारीले बताए ।

खड्काको नाममा सभापति देउवा पनि सकारात्मक रहेको बुझिएको छ। यस्तै बैठकमा अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरि तयारी समेत गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ