माओवादीकाे बैठक सुरू, मञ्चमा प्रचण्ड र नारायणकाजी एकै ठाउँमा


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्ने भनिएको बैठक दुई घण्टा ढिलो गरि दिउँसो १ बजेदेखि सुरु भएको हो ।पुसमा भएको आठौँ महाधिवेशनपछि पहिलो पटक बस्न लागेको यो बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिने, आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचन लगायत समसामयीक विषयमा छलफल हुने तयारी छ ।

त्यस्तै बैठकमा नेता नारायणकाजी श्रेष्ठले फरक मत राख्ने भएका छन् । फागुन १५ मा एमसीसी पास गरिएपछि पार्टीमा असन्तुष्ट रहेका नेता श्रेष्ठले फरक मत पेश गर्ने तयारी गरेका हुन् । आठौं महाधिवेशनले यथाअवस्थामा एमसीसी पास नगर्ने निर्णय लिएको थियो ।तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणाका आधारमा एमसीसी पास गरिदिएपछि माओवादीमा तीव्र विवाद छ । विवादकैबीच बस्न लागेको बैठकको मञ्चमा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ एकै ठाउँ देखिएका छन् ।प्रचण्डले एमसीसी पासको निर्णय लिएपछि वरिष्ठ नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलसहितले चर्को असन्तुष्टि जनाइरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ