२००७ सालमा भएको राजनीतिक क्रान्ति दूरगामी र ऐतिहासिक महत्वको हो :प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन्।

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका हुन् ।

उनले विसं २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति हो भन्दै यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई आज लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको स्मरण गराए ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि विसं २००७ मा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गर्दै आजका दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हकअधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय भएको उल्लेख गरे।

“वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ।यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।” प्रधानमन्त्री देउवाले भने, “आज हामी जेजस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो ।”

उनले सात सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको र यसलाई अब हामी सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको बताए ।प्रधानमन्त्री देउवाले भने, “हामी संविधानसभाबाट नेपाली जनताले चाहेजस्तो संविधान निर्माण गरी त्यसैअन्तर्गत मुलुकमा शासन व्यवस्था सञ्चालन गर्न सफल भएका छौँ हाम्रा भावना र चाहनालाई संविधानमा प्रतिविम्बित गर्न सक्षम भएका छौँ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ