एमसीसीबारे सत्ता गठबन्धनमा निर्णायक छलफल हुँदै


काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज निर्णायक छलफल हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार (आज) दिउँसाे ३ बजे हुने छलफलबाट एमसीसीबारे छिनाेफानाे हुनेछ । यसअघि बुधबार एमसीसी प्रतिनिधिसभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री देउवा त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगे । जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भनेका थिए ।

आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गरे । तर देउवाले त्यसमा सहमति जनाएनन् ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उनको भनाइ थियो ।गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो ।

बुधबारको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् । त्यसैले आजको गठबन्धनका नेताहरूको छलफललाई निकै महत्त्वका साथ हेरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ