एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला देउवानिकट नेता लेखक अमेरिका जाँदै


काठमाडौं ।नेपाली कांग्रेसका नेता रमेश लेखक अमेरिका जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका उनी आज राति ८ बजे अमेरिका प्रस्थान गर्ने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यहि २६ माघमा एमसीसी संसदमा टेबुल गर्ने तयारी गरिरहेका बेला नेता लेखक अमेरिका जान लागेका हुन् । एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वासपात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तर, उनका स्वकीय सचिव जनक भट्टले नेता लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेको बताए । लेखक अमेरिका जानु र एमसीसी पासको प्रयास हुनुमा कुनै सम्बन्ध नरहेको भन्दै उनले लेखक पत्नी र छोरीका साथमा अमेरिका जान लागेका बताए ।

अमेरिकाले फेब्रुअरी १ सम्म संसदबाट अनुमोदन नगरिए एमसीसी फिर्ता लैजाने बताइसकेको छ । यस्तोमा प्रधानमन्त्री देउवालाई जसरी पनि अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्नु पर्ने दबाव छ । तर सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा एमसीसीबारे दलहरुबीच विवाद चर्किएको छ ।

देउवा यथास्थितीमा एमसीसी पास गर्न चाहान्छन् । तर गठबन्धनमा रहेका मुख्य दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने संशोधन नगरि एमसीसी कुनै हालतमा पास गर्न नहुने अडानमा छन् ।

यसैबीच प्रधानमन्त्री देउवाले माओवादीका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपाललाई मनाउने प्रयास जारी राखेका छन् । तर उनीहरु सकारात्मक नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन् । उनले सम्भावित सहकार्यलाई सरकारका प्रवक्त तथा सञ्चारमन्त्री ज्ञानन्द्र कार्कीमार्फत संवादलाई अघि बढाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ