भारतलाई पराजित गर्दै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि


भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।

आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भयो।

भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन जोडे। अर्का ओपनर साइ सुदर्शन २९ रनमा आउट भए।  कप्तान यश धुल ३९ रनमा पभिलियन फर्के।

बलिङमा पाकिस्तानका सुफियान मुकिमले ३ विकेट लिए। अर्सद इकबाल, मेहरम मुम्ताज र मोहमद वासिमले २-२ विकेट लिए।

त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा ३५२ रन जोड्यो।

पाकिस्तानका लागि तयब तहिरले शतक प्रहार गरे। उनले ७१ बलमा १२ चौका र ४ छक्काको मद्दतमा १०८ रन जोडे। ओपनरद्वय सइम अयुबले ५९ रन र सहिबजाडा फरहानले ६५ रनको योगदान दिए।

बलिङमा भारतका रविबद्धन र रियान परागले २-२ विकेट लिए।

यसअघि समूह चरणमा भारतले पाकिस्तानमाथि जित निकालेको थियो। समूह ‘ए’ मा नेपालले पनि प्रतिस्पर्धा  गरेको थियो। नेपालले भारत र पाकिस्तान दुवै टिमसँग पराजय भोगेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ