काे हुन झपट साउद : कुशल कमान्डर देखि सामाजिक विकास मन्त्रीसम्म


धनगढी : अछामबाट निर्वाचित प्रदेश सभा सदस्य झपट बहादुर साउद सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रका तर्फबाट निर्वाचनमा होमिएर अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ बाट नेकपा एमालेका कृष्ण प्रसाद जैसीलाई पराजित गरेर साउद सदनको यात्रामा होमिएका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका साउदलाई शुक्रवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् । उनीसँगै शुक्रवार माओवादी केन्द्रका तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को ‘ख’ बाट निर्वाचन जितेका रमेश धामी पनि मन्त्री नियुक्त भएका छन् । धामी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

अछामबाट सदनको यात्रामा साउदको राजनीतिक जीवन
जनयुद्ध र वर्ग सङ्घर्ष बाट स्थापित झपट साउद उर्फ मर्मको राजनीतिक जीवन सङ्घर्षशील ।छ । साउद २०३७ सालमा अछाम जिल्लाको तत्कालीन रामारोशन गाविसको भटाकाटीया वडा नं ६ स्थित पुदुमा बुबा वीर बहादुर साउद र आमा भिरकी देवी साउदको कोखबाट माइलो छोराका रूपमा जन्मिएका हुन् । उनका चार दाजुभाइ छन् । आधारभूत तहको अध्ययन गाउँकै पूर्णचन्द्र माविबाट पुरा गरेका उनले यशोदा मावि नेटाकोट बाट कक्षा ८, महेन्द्र मावि बयालपाटा बाट एसएलसी र जनता बहुमुखी क्याम्पस बयलपाटाबाट उच्च शिक्षा अध्ययन सम्पन्न गरे ।

२०५४ सालबाट राजनीति जीवन सुरु गरेका साउदले माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्व देशभरका करिब १७ जिल्लामा सफलतापूर्वक निर्वाह गरेका छन् । उनले २०५४ सालमा अखिल क्रान्तिकारी को इकाई कमिटी सदस्य बाट राजनीतिक जीवन सुरुवात गरेका थिए । २०५५ सालमा माओवादी केन्द्र निकट वाइसिएलका वडा अध्यक्ष भए । २०५६ साल कार्तिक २३ गते बाट भूमिगत भएका उनी ०५८ सालमा अखिल क्रान्तिकारीको अछाम जिल्ला अध्यक्ष भए । २०५९सालमा अखिल क्रान्तिकारीको अछाम जिल्ला अध्यक्ष दोस्रो कार्यकालमा दोहरिँदा माओवादी केन्द्रको जिल्ला सदस्य भए ।

२०५९ सालमा अखिल क्रान्तिकारीको अछाम, बाजुरा र कालिकोट जिल्ला इन्चार्ज भए । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैन्य कु पछि २०६२ सालसम्म देशकै राजधानी काठमाडौँबाट तत्कालीन बागमती अञ्चलका ९ जिल्ला  र नारायणी अञ्चलका ५ जिल्लामा उनले अखिल क्रान्तिकारीको १४ जिल्ला संयोजकको जिम्मेवारी सफलतापूर्वक बहन गरे ।

२०६३ सालमा अखिल क्रान्तिकारीका सुदूरपश्चिम संयोजक र पार्टीको क्षेत्रीय ब्युरो सदस्य भए । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्रीय ब्युरो रहेकै समयमा अछाम निर्वाचन क्षेत्र नं १ बाट पहिलो संविधान सभाको निर्वाचनमा १६ हजार ५ सय मतसहित पराजित हुन पुगे । अखिल क्रान्तिकारीको जिम्मेवारीसँगै २०६४ सालसम्म पार्टीको क्षेत्रीय ब्युरो सदस्यको जिम्मेवारी पनि उनले सम्हाले ।
त्यसपछि २०६६ बाट पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुँदै २०७३ सालमा अछाम जिल्लाको पार्टी जिल्ला संयोजकको जिम्मेवारी प्राप्त गरे । २०७५ सालमा नेकपा एकताका क्रममा उनलाई अछाम जिल्ला सचिवको जिम्मेवारी दिइयो ।

नेकपा विभाजन पछि २०७७ सालमा उनलाई फेरी जिल्ला संयोजक र इन्चार्जको जिम्मेवारी प्रदान भयो । आठौँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज भए । दश बर्से जनयुद्धका क्रममा साउदको भूमिका महत्त्वपूर्ण रह्यो । उनी वाइसिएलको भटाकाटिया अध्यक्ष हुँदा २०५७ सालमा रामारोशन भटाकाटिया परिवनमा प्रहरी घेरा तोडेर उम्किएका थिए । माओवादी जनयुद्धको सफलताको कडी मानिएको २०५८ सालमा  मङ्गलसेनमा आक्रमण गर्दा साउँदले विद्यार्थी मोर्चाको नेतृत्व गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ