पूर्वमन्त्री पक्राउपछि पूर्वप्रधानमन्त्रीतिर सोझ्याइँदै भुटानी शरणार्थी प्रकरण


काठमाण्डु – बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलै नेताहरू पक्राउ परिसकेका छन् । घुस रकम लिई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जालझेलमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी अनुसन्धानमा हालसम्म नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् ।

अनुसन्धानकै क्रममा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पक्राउ परिसकेका छन् ।

अमेरिकाको समेत चासो रहेको ठानिएको प्रकरणमा अब पूर्वप्रधानमन्त्रीलाई समेत तान्न खोजिएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले शरणार्थी प्रकरणलाई पूर्व प्रधानमन्त्रीतिर सोझ्याउन खोजेको हो ।

सोमवारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले भने, ‘प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रतिवेदन फेला पारेको हो कि होइन ? यदि यो सत्य भए तत्कालीन प्रधानमन्त्रीहरू पनि जिम्मेवार हुनुपर्छ कि पर्दैन ?’

पूर्व उपप्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ पर्दा प्रधानमन्त्री रहेका व्यक्तिहरू जिम्मेवार हुने कि नहुने भनेर नेमकिपाले प्रश्न उठाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ