स्ववियु निर्वाचन : चार विद्यार्थी संगठनले विश्वविद्यालयमा लगाए ताला


कञ्चनपुरका चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विद्यार्थीलाई वञ्चित गराउन खोजेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन्।

आइतबार चार विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन्।

नेविसंघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेय पक्षधर नेविसंघ, नेकपा विप्लव, बहुमत निकट अखिल क्रान्तिकारी र राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन समितिको कार्यकक्ष र रजिस्ट्रार यज्ञराज पाठकको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

नेविसंघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले स्थानीय विश्वविद्यालयबाटै विद्यार्थीको हक अधिकार वञ्चित हुने गरी निर्वाचन कार्यविधि बनाइएकाले सच्याउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा तालाबन्दी गरिएको बताए।

‘सुदूरपश्चिम विश्वविद्यालयले कार्यविधि बनाउँदा विद्यार्थीको हितभन्दा पनि आफूअनुकूल बनाएको छ,’ उनले भने, ‘त्यो सच्याउनुपर्ने हाम्रो माग हो, सबै विद्यार्थीलाई मताधिकारको अधिकार सुनिश्चित गराउनुपर्‍याे।’

सुदूरपश्चिम विश्वविद्यायले भने निर्वाचन प्रक्रिया अघि बढिरहेको जनाएको छ। रजिस्ट्रार यज्ञराज पाठकले केही विद्यार्थी संगठनले निर्वाचन कार्यविधिबारे असहमति जनाएको बताउँदै विद्यार्थी संगठनले अघि सारेका मागबारे छलफल गरिने बताए।

‘हामीले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाइसकेका छौँ,’ रजिस्ट्रार पाठकले भने, ‘निर्वाचनमा विश्वविद्यालयका तर्फबाट सबै समन्वय र सहकार्य जारी छ।’

आगामी ८ चैत ०७९ मा सुदूरपश्चिम विश्विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मिति तय गरेको छ। गत शुक्रबार नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्ववियु, नेकपा वैद्य, विप्लव, बहुमतनिकट क्रान्तिकारी, राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठनले संगठन दर्ता गराएका थिए।

चुनावका लागि संगठन दर्ता भएको तेस्रो दिनमै केन्द्रीय क्याम्पस, कार्यालयमा तालाबन्दीले निर्वाचन प्रक्रियामा प्रभाव पर्ने देखिन्छ। यसअघि पनि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान, संस्कृतको आंगिक क्याम्पस शारदा विद्यापीठसहितका त्रिविका बारिधि, कञ्चन, बालजागृति, भानु, दानेश्वरसहितका क्याम्पसमा तालाबन्दी गरेका थिए।

तालाबन्दीका कारण उक्त क्याम्पसमा मनोनयन दर्ता हुन सकेन। डेढ दशकपछि स्ववियु निर्वाचन हुँदै छ । यहाँ विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच चुनाव प्रक्रियाबारे आरोप–प्रत्यारोप चलिरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ