गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– विज्ञप्ति निकालेर अपराधी खोज्ने परम्परा सुरु भएको हो ?


नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हत्या आरोपित एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ नगरी विज्ञप्ती निकालेको भन्दै आपत्ति जनाएका छन् । गृहमन्त्रीले संसदमा आफूसँगै उपस्थित महतोलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै खतिवडाले कटाक्ष गरे ।

शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो विज्ञप्ती निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पु¥याउँछ भन्दै प्रश्न गरे । गृहमन्त्रीलाई प्रहरीले टेर्न छोडेको हो भन्दै उनले तत्काल यसबारेमा जवाफसमेत माग गरे ।

‘गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्ती निकालेर अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ? सभामुख महोदय, बडा चिन्ताको विषय बनेको छ । गृहमन्त्रीले बालापनको, केटाकेटीपनको प्रर्दशन त्यहाँ गर्नु भएन । के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सृजना भएको हो ? कि अझै पनि जनतालाई ढाँटनका लागि सूचना प्रकाशित गरिएको हो ?’ उनले भने ।

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे । उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ