बैदेशिक रोजगारीका लागि सहजता, सातै प्रदेशबाट श्रम स्वीकृति


काठमाडौँ:श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ ।प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति दिने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । जनकपुर र विराटनगरमा सेवा गरेसँगै सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ ।

श्रम मन्त्रालयले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्या हटाई अनलाइनबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने मधेश प्रदेश र प्रदेश १ का नागरिकलाई आआफ्ना प्रदेशका श्रम रोजगार कार्यालयबाट सबैखाले श्रम स्वीकृतिका सेवा लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सबै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गरी क्रमिक रूपमा सेवा दिन थालिएको थियो । अन्य प्रदेशका कार्यालयबाट सबै सेवा सञ्चालन हुन थाले पनि प्रदेश १ र मधेश प्रदेशमा जनशक्ति अभावका कारण यो सेवा सुरु हुन सकेको थिएन ।

सचिव अर्यालका अनुसार वैदेशिक रोजगार कार्यालय गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलबाट गएको असोजदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा दिँदै आएको छ । यसैगरी कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक आचार्यले जानकारी दिनुभयो । बागमती प्रदेशमा ताहाचलस्थित श्रम तथा रोजगार कार्यालयबाट सेवा प्रदान हुँदै आएको छ ।

कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ । त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिनाझन्झट सेवा लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रूपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ ।

सबैखाले श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनमार्फत नै प्रदान हुन्छ । पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्ण रूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्न पर्दैन । रासस

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ