वायुसेवा निगममा बेथितिको चाङ ! को आउलान् राष्ट्रिय ध्वजाबाहक सुधार्न सक्ने मन्त्री ?


काठमाण्डु – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम पटक–पटक विवादमा आउँछ । वाइडबडी खरिद प्रकरण जस्ता ठूल्ठूला विवाद समेत निगममा देखिए ।

कतिपय बेला साना–साना विवादले पनि निगमलाई अप्ठ्यारोमा पार्छ । चरण राजनीतिक चलखेलको शिकार तथा सामान्य व्यवस्थापकीय कमजोरीले निगमको छविमा धक्का लाग्दै आएको छ ।

पछिल्लो समय निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पनि निगममा सुधारको काम देखाउन सकेनन् । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको नयाँ गठबन्धनसँगै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्यटनमन्त्री नियुक्त भइसकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिएपछि मात्रै थप मन्त्री नियुक्ति र कार्यविभाजन हुने बताइएको छ । निगममा यतिबेला चासोका साथ हेरिएको छ, पर्यटनमन्त्री को आउलान् ?

निगम सुधारको पर्याप्त प्रयास निगमको बोर्डबाटै हुनुपर्ने हो । तर कार्यकारी अध्यक्ष युवराज अधिकारी नेतृत्वको बोर्डले सुधारमा सक्रियता देखाएको छैन । अध्यक्ष अधिकारीको समय निगमलाई सुधार्नभन्दा पनि अदालत धाएर पद जोगाउनमै केन्द्रित भएको छ ।

यसै महिना मात्रै केही बेथितिहरू सतहमा आए, जुन देख्दा सामान्य हुन् तर त्यसको असर धेरै परेको देखियो । निगममाथिको विश्वास गुम्न सक्ने खतरा भइराख्दा समेत निगम व्यवस्थापनले खासै चासो देखाउँदैन । हवाइ क्षेत्रलाई अति संवेदनशील क्षेत्र मानिन्छ तर निगम व्यवस्थापन संवेदनशील छैन ।

निगमको न्यारोबडी जहाजको सिट भाँचिएको घटना बाहिरियो । निगमले सिट भाँचिएको जहाजलाई मर्मत नगरी उडाइरह्यो । सिट मर्मत गर्न लगभग ५० हजार रुपैयाँ खर्च हुने निगम स्रोतले जनायो तर निगमले २ महिनासम्म सिट मर्मत नगरी एकातिर आम्दानी गुमाइरह्यो भने अर्काेतिर विश्वास ।

यसै महिना निगमका क्याबिन क्रूले हड्ताल गरे । क्याबिन क्रू आरती महर्जन र स्मिता गुबाजुको करार नियुक्ति नवीकरण नभएपछि करार थप्न माग गर्दै सबै क्याबिन क्रूले हड्ताल गरे । हवाइ सेवालाई अत्यावश्यकीय सेवा मानिन्छ भने अत्यावश्यक सेवामा हड्ताल गर्नु अपराध मानिन्छ । हड्तालका कारण साउदी अरब र भारतका लागि पूर्व निर्धारित उडान प्रभावित भएका थिए । जसले गर्दा यात्रुहरू विमानस्थलमै अलपत्र परे भने यात्रुले नाराबाजी गर्नुपरेको थियो । समयमै उडान नगर्ने वायुसेवाले यात्रुको विश्वास गुमाउँदै जाने अवस्था हुन्छ, नेपाल वायुसेवा निगम यस्तै समस्याको शिकार हुँदै आएको छ ।

भित्रकै २ जना करार कर्मचारीको म्याद थपको विषयले समग्र निगमकै सेवालाई प्रभावित पारेको थियो, निगम व्यवस्थापनले यसलाई सहज माध्यमबाट समाधान गर्न सकेन । निगमले १० जनाको म्याद थप्दा २ जनालाई छाडेपछि विवाद चर्किएको थियो । पछि फेरी उनिहरु दुवै जनाको म्याद थप गर्न निगम व्यवस्थापन बाध्य भयो । यसको पछाडी निगमका अपरशेन डाइरेक्टर आरके शेरचनको राजनीतिक रहेको स्रोत बताउंछ ।

अर्काेतिर निगमका जहाज समयमा उड्दैनन्, प्राविधिक समस्या देखाएर ढिलासुस्ती हुने गर्छ । विमानमा आउनसक्ने समस्यालाई समयमै यकिन र समाधान नगर्ने प्रवृत्तिका कारण निगमप्रति यात्रुको आकर्षण घट्दै गएको छ । निगमका प्राविधिक र चालक दलका सदस्यले स्वस्फूर्त सक्रियता नदेखाउँदा प्राविधिक समस्या देखिने गर्छ ।

निगम आर्थिक रूपमा समेत टाँट पल्टिने अवस्थामा पुगेको छ । वाइडबडी विमान खरिद गरेपछि निगमले त्यसको पूर्ण उपयोग गर्न सकेको छैन । जसले गर्दा विमान खरिदको किस्ता रकम तिर्न समेत सरकारको भर पर्नुपर्ने अवस्था छ । यस्तो बेहाल अवस्थाबीच निगमको सुधार कसरी होला ? नयाँ सरकार र नयाँ मन्त्रीले निगममा सुधारका काम गर्न सक्लान् ?

आइतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थलको उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो । मेरो तेस्रो कार्यकाललाई समाज रूपान्तरणको निर्णायक कालखण्ड बनाउँछु । मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिन्छु ।’ रूपान्तरणको निर्णायक कालखण्डमा राष्ट्रिय ध्वजाबाहक निगमलाई रूपान्तरण गर्न प्रचण्डले के–के गर्लान् ? रूपान्तरण गर्न सक्लान् ? हेर्न बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ