दाङ-२ मा शंकर पोखरेलसँग भिड्न रेखा शर्मा चुनावी मैदानमा, कसको होला जित ?


काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावको माहोल तातेको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा विजयी हुन ठुलादेखि साना राजनीतिक दलका उम्मेदवार गाउँ-गाउँ पुग्न थालेका हुन् । यसले गर्दा देशभर चुनावी चहलपहल बढेको छ ।

जसमध्ये लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि चुनावी माहोल तातेको छ । दाङ २ मा केन्द्रीय स्तरका नेताको प्रतिष्पर्धाले चुनावी माहोल तातेको हो । दाङ २ बाट नेकपा एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मा चुनावी युद्धमा उत्रिएका छन् ।

पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेल र माओवादीकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री शर्माबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । पोखरेलले प्रदेशको स्थायी राजधानी दाङ ल्याएको भन्दै जस लिन खोज्दैछन् भने शर्माले महिला नेतृ र सरकारमा रहँदा गरेका कामको मूल्यांकनका आधारमा मत मागिरहेकी छन् ।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा आएको मतका आधारमा भने गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाका चार वडा देउखुरी १ मा पर्छ भने तुलसीपुर उपमहानगरका चार वडा यस क्षेत्रमा थपिएका छन् । साथै, सिंगो बंगलाचुली गाउँपालिका पनि यस क्षेत्रमा गाँभिन आउँछ ।

यस्तै, घोराही उपमहानगरमा पर्ने तर यस निर्वाचन क्षेत्रमा नपर्ने वडाहरु हुन् वडा नम्बर १, २, ३, र ५ । यी चारै वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेको गढ मानिने यी वडा यस क्षेत्रमा नपर्नुको प्रत्यक्ष घाटा एमालेका उम्मेदवार शंकर पोखरेललाई पर्ने देखिन्छ ।

यो क्षेत्रमा एमाले गठबन्धनभन्दा करिब ४५ सय मतले अघि थियो । स्थानीय तहमा एमालेको लागि हर्षको विषय बनेका वडा नम्बर १, २, ३ र ५ पोखरेलको लागि चिन्ताको विषय बन्न सक्छ । यद्यपि, पछिल्लो समय बंगलाचुलीमा एमालेले पार्टी प्रवेश र संगठन विस्तार अभियानलाई व्यापक बनाएकोले त्यसको असर आउँदो निर्वाचनमा कस्तो देखिने हो ? यो विषय रोचक छ । त्यसकारण यहाँको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ