समितिमा चालेन्द्रको बयान- जसले परमादेशबाट फाइदा लियो उसैले महाअभियोग लगायो


काठमाण्डु – बयानका लागि उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उल्टै संसदीय समितिसँग प्रश्न गरेका छन् ।

बुधबार महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा जबराले आफूलाई महाअभियोग लगाउनुको कारण दिन संसदीय समितिसमक्ष माग गरेका हुन् ।

उनले ०७८ असार २८ गते शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन्।

साथै उनले असार २८ कै फैसला महाअभियोगको कारण भए त्यो प्रस्ताव गठबन्धन सरकारका तर्फबाट नभएर एमालेका तर्फबाट आउनुपर्ने जिकिर गरे ।

राणाले भने, ‘२०७८ असार २८ सम्म म ठीक हुने त्यसपछि नहुने किन ? परमादेशबाट प्रधानमन्त्री हटेको एमालेले महाअभियोग लगाउनुपर्ने हो किनभने फैसलापछि एउटा पक्ष असन्तुष्ट हुन्छ । तर, यहाँ त उल्टो परमादेशबाट फाइदा लिने पक्षले लगायो ।’

राणाले आफूले मुद्दाको फैसला गर्दा बार्गेनिङ गरेको भन्नु झुठो आरोप भएको दाबी गरे । ‘बार्गेनिङ गरेको भन्ने कुरा झुठो हो। मैले पहिलैदेखि यो कुरा भन्दै आएको छु,’ उनले भने ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश जारी गर्ने पाँच न्यायाधीशमध्ये आफूमाथि मात्रै महाअभियोग लगाइएकोमा पनि उनले आपत्ति प्रकट गरे ।

‘२०७८ असार २८ गतेकै फैसलाका कारण मलाई महाअभियोग लगाइएको हो भने मलाई लगाउनुपर्ने कारण के त ? त्यसमा मेरो कमजोरी के छ त ?’, उनले प्रश्न गर्दै भने, ‘यदि मेरो पुरानै कुरालाई महाअभियोग लगाइथ्योँ भने किन पहिले नै लगाइएन, अहिले आएर किन नियतवश यस्तो निर्णय गरियो ?।’

उनले आफूलाई महाअभियोग लगाउनुपर्ने कारण दिन पटक पटक आग्रह गरे । उनले नेपाल बार एसोसियसनका पदाधिकारीहरुले भ्रष्ट मनासायसहित आफूलाई घेराबन्दी गरेको पनि बताए ।

‘नेपाल बारका पदाधिकारीहरुले भ्रष्ट मनासयले मविरुद्ध आन्दोलन गरे। न्ययाधीशहरुलाई मविरुद्ध उचालियो, कसैलाई सरुवा बढुवाको लोभ देखाइयो’, उनले भने, ‘अदालतभित्रै असहज स्थिति सिर्जना गरियो। बारका पदाधिकारीबाहेक अरु म विरूद्ध थिएनन्। मविरुद्ध आन्दोलन हुँदा उनीहरु मेरो साथमा थिए। तर मैले अहिलेसम्म महाअभियोगको कारण बुझ्न सकेको छैन ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ