कोरोना संक्रमण बढेसँगै काठमाडाैं उपत्यकामा कडाई, २५ जना भन्दा बढी भेला हुन रोक


काठमाडाैं  – कोरोना संक्रमण दर बढेसँगै काठमाण्डु उपत्यकामा थप कडाई गरिएको छ । मंगलबार बसेको काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण रोक्नका लागि थप कडाई गर्ने निर्णय गरेको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बैठक बसिसकेको र केहीबेरमा सूचना निकालिने बताइन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ । ‘सीसीएमसी र गृह मन्त्रालयसँग थप छलफल गरेर सूचना निकाल्ने तयारी गरेका छौं,’ उनले भनिन् ।

सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

त्यस्तै कुनै पनि सभा, भेला, जुलसुलगायतका भिडभाड हुने कार्य रोक्ने निर्देशन दिएको थियो। सोमबारको मन्त्रीस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को आइतबारको बैठकले खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ