मन्त्री कार्की,गगन थापा र प्रकाशशरणमाथि सुरक्षा खतरा: बढाइयो विशेष सुरक्षा


काठमाडौँ – सरकारले नेपाली कांग्रेसका ३ जना नेताहरुको सुरक्षा बढाएको छ । कांग्रेसका महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा.प्रकाशशरणमहतको सुरक्षा बढाइएको छ ।

थापा, कार्की र महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

एक उच्च प्रहरी अधिकारीले भने,“थापा, कार्की, र महत एमसीसीको पक्षमा बोल्दै आउनुभएको छ । यस्तोमा प्रदर्शनकारीबाट उहाँहरुमाथि आक्रमण हुन सक्ने सम्भावना रहन्छ । त्यसैले उहाँहरुको सुरक्षालाई ध्यान दिएका छौँ । उहाँहरु सहभागी कार्यक्रममा पनि विगतभन्दा बढी प्रहरी खटाइसकेका छौँ ।”

एमसीसी संसद्मा टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकताहरु निरन्तर आन्दोलनमा छन् ।

महामन्त्री थापाले एमसीसीको विरोध पनि गर्ने र सरकारमा पनि बसिरहने माओवादी प्रवृत्तिको निरन्तर आलोचना गर्दै आएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ