महन्थलाई ‘झुक्याएर’ अमेरिका उडे सिके राउत


काठमाण्डु – जनमत पार्टीका अध्यक्ष सिके राउत पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहीबार राति अमेरिका उडेका छन् । अमेरिका उड्नु अघि उनी बिहान हतार हतार जनकपुर पुगे । पार्टी कामले केही दिन अघिमात्र जनकपुरबाट फर्केका राउतलाई तत्कालै जनकपुर जानु पर्नेे कुनै कार्यक्रम नभए पनि बिहीबार हतारमा जनकपुर पुगेर हतारमै काठमाडौं फर्किदै अमेरिकातर्फ उडे ।

हतारमा जनकपुर पुगेका राउतको एउटै उद्देश्य थियो–आफ्नो पार्टीको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउने । आफ्नो उद्धेश्यमा उनी आंशिक सफल पनि भए । यद्यपि जनमतको नेतृत्वमा अहिले मधेशमा सरकार बनिसकेको छैन । पार्टी नेतृत्वमा सरकार बनाउने माओवादी केन्द्र र एमालेसँग लिखित सहमति गराएर राउत अमेरिका उडे ।

बिहीबार तीन दलको संयुक्त बैठकमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले हस्ताक्षर गरेका छन् । मधेश सरकारमा यी तीन दलसँगै नेकपा एस र लोसपा पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ । तर यी दुई दलले आफूहरूले कुनै सहमति नगरेको बताएका छन् ।

‘प्रदेशमा रहेको भ्रष्टाचार प्रवृत्तिलाई हटाउन तथा प्रदेशको आर्थिक वृद्धि उच्च बनाउन नयाँ सरकारको आवश्यकता रहेको’ सहमतिपत्रमा उल्लेख छ ।

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन् । जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ भने जेठ २३ गते मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

यता तीन दलले नेकपा एस र लोसपाको सहयोगमा मधेश प्रदेशमा नयाँ सरकार बनाउने रणनीतिमा छन् । यसका रणनीतिकार राउत हुन् ।

जसपा नेपालका वरिष्ठ नेता अशोक राईले पार्टी फुटाएपछि जनमतले मधेशमा नेतृत्वका लागि बार्गेनिङ बढाएको हो । मुख्यमन्त्री दिन गठबन्धन सकारात्मक भएपछि जनमतले जेठ पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सोही सहमतिअनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ ।

१०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोसपाका आठ र नेकपा एसका सात सांसद् छन् । जनमतलाई सरकार बनाउन अहिलेको अंकगणितले पुग्दैन । तीन दलको संख्या ४६ मात्र पु्ग्छ । बहुमतका लागि थप सात सांसद चाहिन्छन् । त्यसमा लोसपाको आठ सांसद थप्दा ५५ मत पुग्छ । नेकपा एसको सात सांसद जोडिँदा पर्याप्त बहुमत हुन्छ । त्यसकारण मधेशमा लोसपा र नेकपा एस निर्णायक शक्तिका रूपमा देखिएका छन् ।

मधेशको सबैभन्दा ठूलो दल एमालेले यसअघि सरकारको नेतृत्वमा दाबी गरेको थियो । तर, अहिले लचिलो बनेपछि जनमतले सत्ता हाँक्ने गरी सत्ता गठबन्धनका तीन दलबीच बिहीबार सहमति भएको हो ।

जनमतका एक नेताले लोसपा र नेकपा एसलाई पनि साथमा लिएर नयाँ सरकार गठन गर्ने दाबी गरे ।

कांग्रेस सभापति शेरवहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच बुधबार मधेश सरकार गठनको विषयमा काठमाडौंमा छलफल भएको थियो । छलफलमा कुरा नमिलेपछि जनमतको रणनीति पुनः सफल हुन लागेको हो ।

मधेशमा उपेन्द्र यादव आफ्नो पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकार टिकाउन हरसम्भव प्रयास गरिरहेका छन् । उनको प्रयासमा लोसपा तगारो बनिरहेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष यादवबीचको टकरावले जसपा नेतृत्वको वर्तमान सरकार संकटमा परेको छ । पार्टी फुटेपछि जसपा नेपाल साढे ६ वर्षपछि मधेश सरकारको नेतृत्व गुमाउने अवस्थामा पुगेको छ ।

मधेशमा सरकार निरन्तरताका लागि दलहरूबीच नयाँ सिरामा सहमति हुनुपर्ने र त्यसका लागि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने लोसपाको शर्तले यादव अप्ठयारोमा छन् ।

सिकेको चाल

सहमतिपत्रमा लोसपा र नेकपा एसको हस्ताक्षर नभए पनि उनीहरूको पनि सहमति रहेको भन्दै राउतले प्रचार गरिरहेका छन् ।

राउतले सरकार बनाउन लोसपा सहमत रहेको भनिरहँदा लोसपाले आफूहरूले सरकार गठनको विषयमा कुनै सहमति नगरेको बताएको छ । जनकपुरबाट फर्के लगतै विमानस्थलबाट सिके राउतले लोसपा अध्यक्ष ठाकुरलाई सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए ।

राउतले ठाकुरलाई भनेका थिए, ‘मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरिसकेका छन् । तपाईंले पनि सहयोग गर्नु प¥यो ।’

राउतले आफू अहिले केही दिनका लागि अमेरिका जान लागेको जानकारी गराउँदै पार्टीका केही साथीहरू कुरा गर्न आएमा सकारात्मक कुरा गरिदिन आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ठाकुरले ‘पहिला कुरा गरौँ न’ भन्दै संक्षिप्त जबाफ फर्काएका थिए ।

त्यसपछि अध्यक्ष राउतले नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीलाई फोन गरे । चौधरीलाई जनमतको नेतृत्वमा सरकार बनाउन लोसपा तयार भएको र तपाईँले पनि समर्थन जनाइदिनुपर्‍यो भन्दै आग्रह गरे ।

यता लोसपा महासचिव सुरेन्द्रकुमार झाले मधेस प्रदेशमा नयाँ रकार गठनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताउँदै आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र सही समयमा पार्टीले उचित निर्णय लिने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ