नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन र रिफ्युलिङ परिक्षण सफल


काठमाडौं : नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन र रिफ्युलिङ (गाडीमा इन्धन भर्ने काम)सम्बन्धी गरिएको परीक्षण सफल भएको छ।

काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान सुरू गरेको करिब दुई वर्षपछि परीक्षण सफल भएको हो।

नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगबारे अध्ययन गर्न विश्वविद्यालयले गत कात्तिकमा दक्षिण कोरियाबाट हुन्डाई नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याएको थियो। यो गाडी नेपाल आयल निगम (एनओसी)को सहयोगमा भित्र्याइएको थियो।

यही गाडीमा विश्वविद्यालयले बनाएको हाइड्रोजन हालेर सफल परीक्षण भएको विभागका उपहप्राध्यापक डा. विराजसिंह थापाले जानकारी गराए।

‘इतिहास रचिएको छ। भर्खंरै काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसनको सफलतापूर्वक परीक्षण गर्दै हाइड्रोजन कार रिफिल गर्न सुरू गरेका छौं,’ थापाले फेसबुकमा एउटा भिडिओ सेयर गर्दै भनेका छन्, ‘आज नेपालको लागि हाइड्रोजन दिवस हो। मेरो टिमप्रति मलाई गर्व लागेको छ।’

ग्रिन हाइड्रोजन पानीबाट उत्पादन गरिने हाइड्रोजन हो। यसको लागि पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हाइड्रोजन र अक्सिजनमा विभाजित गरिन्छ। उत्पादित हाइड्रोजनलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्न सकिन्छ। अक्सिजनलाई भने कुनै पनि नकारात्मक प्रभावबीना वायुमण्डलमै छाडिन्छ।

उपप्राध्यापक थापासँगले नेपालमा हाइड्रोजन उत्पादन र प्रयोगको सम्भावना भएको बताउँदै आएका छन्। केही समय अघिको कुराकानीमा उनले भनेका थिए, ‘पानी, विद्युत र हावा भए हाइड्रोजन बनाउन सकिन्छ।

नेपाल जलस्रोतको धनी देशमध्ये पर्छ। खेर गइरहेको जलविद्युतबाटै हामी आत्मनिर्भर हुन सक्छौं। अहिले विद्युतसँगै हाइड्रोजनको प्रयोग बढाउन सक्यौं भने इन्धनको लागि अरू देशमा निर्भर हुनु पर्दैन। एनओसीलाई इन्धन निर्यात गर्ने कम्पनीसम्म बनाउन सक्छौं।’

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ