कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान गर्दै


कञ्चनपुर :  कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयार अघि बढेको छ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रस्तावित सुक्खा बन्दरगाह निर्माणका लागि अबको साढे दुई महिनाभित्रै ठेक्का हुने दाबी गरेका छन्। उनले आगामी मार्चसम्म बन्दरगाह निर्माणका लागि टेण्डर खोलिन बताए। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका लेखकले नेपाल भारत दुबै देशले सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) स्वीकृत गरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुक्खा बन्दरगाह भारतले बनाउने सम्झौता भएको थियो। सुक्खा बन्दरगाहसँगै एकीकृत जाँचचौकी समेत निर्माण गरिनेछ। दोधारा–चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिनमा निर्माण हुने सुक्खा बन्दरगाह बनाउन पाँच अर्ब ७५ करोड लगानी अनुमान गरिएको छ।

सन् २०२६ सम्म निर्माण गरि सक्ने लक्ष्य लिइएको बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवन लगायत अन्य पूर्वाधार निर्माण गरिने योजना छ। ती संरचना निर्माणका लागि ठेक्का आव्हान गर्न लागिएको हो। बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ। बन्दरगाह क्षेत्रमा एक हजार ९ सय ८९ रुख कटान गर्नुपर्ने देखिएको छ।

२०६६ मा पहिलो पटक सरकारले दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो। स्थानीयको अवरोधका कारण अहिले मायापुरी र त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीका अनुसार भारत सरकारले सुक्खा बन्दरगाह निर्माण गर्न लागेको हो। सुक्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने सहमति छ।

सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने डिपिआरमा उल्लेख गरिएको छ। भारतले एसियन राजमार्गसँग जोड्न पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको छ। सुक्खा बन्दरगाह निर्माण हुने स्थलमा रूख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृति भइसकेको छ। २०६४ मा पहिलोपटक सरकारले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो। त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सम्भावनाको ढोका खुल्ने निजी क्षेत्रको अपेक्षा छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ