मकवानपुरको १० मध्ये ९ स्थानीय तहमा एमालेको उम्मेदवार सिफारिस, काे-कहाँ ? (सूचीसहित)


 

काठमाडौं ।  नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुमा उम्मेदवार सिफारिस टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जिल्लाका १० वटा स्थानीय तहमध्ये ९ वटा पालिकासहित १०२ वटै वडाको उम्मेदवारको सिफारिस प्रक्रिया टुंगो लगाएको हो ।

एमालेले एक उपमहानगरपालिका र एक नगरपालिकासहित बागमती, बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, कैलाश र राक्सिराङ गाउँपालिकाको उम्मेदवार सिफारिस सकिएको जनाएको छ । एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि तीन/तीन जनाको नाम सिफारिस गरेको छ ।

बहालवाला मेयर हरिबहादुर महत, संविधान सभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठ मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका छन् भने उपमेयरका लागि सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्रप्रसाद नेपालको नाम सिफारिस भएको छ ।

त्यस्तै एमालेले थाहा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारका लागि दुई/दुई जना सिफारिस गरेको छ । थाहा नगरपालिकाको प्रमुख पदका लागि बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदी सिफारिस भएका छन् भने उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गरेको छ ।

बकैया गाउँपालिकाबाट अध्यक्षमा पाँच जना सिफारिस भएका छन् । गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा बहालवाला उपाध्यक्ष सरला बोलखे, पद्मा पौडेल, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई र गोपाल दाहालको नाम सिफारिस गरेको हो । पालिका उपाध्यक्षमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमी लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ ।

त्यसैगरी भीमफेदी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षमा पुरानै उम्मेदवारहरुलाई दोहोर्‍याउने निर्णय गरेको छ । हालका पालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना नै पुन सिफारिस हुने भएका हुन् ।

राक्सिराङ गाउँपालिका अध्यक्षमा बाबुलाल स्याङ्तान र उपाध्यक्षमा सुन्तलीमाया प्रजा सिफारिस भएका छन् । यस्तै बागमती गाउँपालिकाको अध्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ । अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सिना र उपाध्यक्ष पदमा बहालवाला उपाध्यक्ष धनमाया स्याङतान, गोपीकुमारी फुँयाल, राधिका तिमल्सिना, सर्मिला विक र सविना योञ्जनलाई सिफारिस गरेको छ ।

यस्तै इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा देवकृष्ण पुडासैनी सिफारिस भएका छन् । आकांक्षी धेरै भएपछि पालिका उपाध्यक्षको भने टुंगो लाग्न सकेको छैन । मकवानपुरगढी गाउँपालिका अध्यक्षमा बहालवाला अध्यक्ष विदुर हुमागाईं नै सिफारिस भएका छन् । पालिका उपाध्यक्ष भने सन्तु थिङलाई सिफारि भएका छन् ।

यस्तै कैलाश गाउँपालिकाको अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरिएको छ । अध्यक्षका लागि बहालवाला उपाध्यक्ष सुकुमाया थिङसहित श्याम उप्रेती, नरेन्द्रलाल रिजाल, बुद्धिबहादुर मोक्तान र सुजिता कार्कीको नाम सिफारिस गरिएको हो । पालिका उपाध्यक्षका लागि पनि ५ जनाको नाम सिफारिस गरेको छ । पालिका उपाध्यक्षका लागि पविना गुरुङ, राजकुमार बल, अर्जुन बर्तौला, तारा थिङ र महेश चेपाङको नाम सिफारिस गरिएको हो ।

मकवानपुरको मनहरी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार भने टुंगो लगाउँन बाँकी छ । मनहरीमा पालिका प्रमुख र उपप्रमुखको आकांक्षीहरु बढी हुँदा उम्मेदवार सिफारिस प्रक्रियामा सकस भएको एमाले मनहरी गाउँपालका कमिटी अध्यक्ष नविन सुवेदीले बताए ।

यसैबीच एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको विषय टुङ्ग्याउन छनौट समिति बनाएको छ । एमाले मकवानपुरको गत बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको विषय टुङ्ग्याउन छनौट समिति बनाएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ