लुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्माको सांसद पद गुम्यो


काठमाडाैं – लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीको सांसद पद गुमेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले मन्त्री रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनी सांसदबाट पदमुक्त भएकी हुन् ।

अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा रहन पाउँछिन् । रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी (जसपा)ले दल त्यागको कारवाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र पठाएको थियो । सभामुखले सूचना टाँसेर उपदमुक्त गरेको जानकारी पनि गराए । त्यसविरुद्ध प्रदेश सांसद रायमाझी लगायतले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

सर्वोच्चले सांसदहरुमाथि कारवाही गर्दा प्रक्रिया पूरा गरेको नदेखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशमार्फत पद त्यागको कारबाही रोकेको थियो । अन्तरिम आदेशमार्फत सांसद पद व्युँतिएपछि सांसद रायमाझी जनता समाजवादी दलमा क्रियाशील भइन् । तर सर्वोच्च अदालतमा नियमित रुपमा लिनुपर्ने तारिखलाई उनले बेवास्ता गरिन् ।

सर्वोच्च अदालतको अभिलेख अनुसार उनले १७ भदौ २०७८ को तारेख टुटाएकी थिइन् । त्यसपछि थाम्ने काम पनि नगरेको भन्दै सर्वोच्चले मुद्दा नै तामेलीमा पठाउने आदेश दिएको हो । अन्यले भने तारेख नगुजारेकाले सांसद पद कायमै छ । मुद्दा तामेलीमा गएपछि त्यसअघिको अन्तरिम आदेश समेत निष्प्रभावी भएको अधिवक्ता बाबुराम दाहालले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ