अहिले २० वटा मुलुक लामो समयदेखि राजदूतविहीन

राजदूत नियुक्तीको लागी नाम टुंगियो, परराष्ट्रसचिवलाई समेत न्यूयोर्क पठाउने तयारी


 

काठमाडौं । सरकारले राजदूत नियुक्तिको प्रक्रिया सुरु गर्ने भएको छ । सत्ता गठबन्धनका नेताहरुले मंगलबार राजदूत नियुक्तिको बारेमा छलफल गरेका छन् । हाल नेपालको न्युयोर्क,जेनेभा र भियनामा संयुक्त राष्ट्रसंघीय नियोगसहित ३० देशमा दूतावास छ । तिमध्ये अहिले २० वटा मुलुक लामो समयदेखि राजदूतविहीन छन् ।

१० वटा देशमा रहेका राजदूत समेत करिअर डिप्लोम्याट हुन । सरकार नयां बनेसंगै राजनीतिक आग्रह पुर्वाग्रहमा आधारमा राजदूत फिर्ता गर्ने चलनले अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको साख गिरिरहेको यस क्षेत्रका जानकारहरु बताउंछन् ।पछिल्लो समय अष्ट्रेलिया,भारत, चीन, बेलायत र अमेरिकालगायतका मुलुकहरुले राजनीतिक कोटाबाट राजदूत नियुक्त नगर्न समेत अनौपचारिक रुपमा नेताहरुलाई सन्देश दिन सुरु गरेका छन् । अहिले अमेरिका र भारतको राजदूत भएकाहरुको एग्रिमो समेत आउन ढिलाइ भएको छ ।

राजदूत नियुक्तिका लागी गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधामन्त्री देउवालाई दबाव दिंदै आएका छन् । तर, देउवाले एमसीसी पारित भएपछी मात्र त्यसलाई अगाडी बढाउने बताउंदै आएका थिए ।

मंगलबार भएको छलफलपछि भने प्रधानमन्त्री देउवा नियुक्ती प्रक्रिया अघि बढाउन सहमत भएको स्रोत बताउंछ । अव बस्ने मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्ती गर्ने सहमति नेताहरुको बीचमा भएको छ ।

माओवादीको कोटाबाट चीनमा यसअघि राजदूत रहिसकेका लिलामणी पौडेल चीन, सृष्ठी राणा डेनमार्क, समाजवादीबाट अध्यक्ष माधव नेपालका बहिनी ज्वांई कैलाश पोखरेल अष्ट्रेलिया र मिलन तुलाधार मध्यपूर्वतिर राजदूत बन्ने लगभग पक्कापक्की भएको छ । त्यसैगरी कांग्रेसको कोटाबाट बन्दना राणा जापानको राजदूत बन्ने भएकी छन् ।

परराष्ट्रमन्त्रालयका सह–सचिवहरु तिर्थ वाग्ले,निर्मल काफ्ले, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल,भरत रेग्मी, र लोकबहादुर थापा समेत राजदूत बन्ने पक्का भएको छ । उनिहरुको देश भने टुंगो लागेको छैन । सहसचिव तेजबहादुर क्षेत्री र शुसिल लम्शालमध्ये एक जना राजदूत बन्ने सम्भावना छ ।

त्यसैगरी परराष्ट्र सचिव समेत परिवर्तन गर्ने खेल सुरु भएको छ । हाल सचिव रहेका भरत पौडेललाई समेत न्युयोर्क पठाउने तयारी छ । राजदूत बन्न अनिच्छुक भएकी सेवा लम्शाललाई समेत राजदूत बनाउने तयारी छ । पौडेल र लम्शाल राजदूत भए सहसचिव दुर्गाबहादुर सुवेदी सचिव बन्ने सम्भावना छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ