शेखरको दौडधुप : एमसीसीको गाँठो फुकाउने प्रयास


काठमाडौँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । डा कोइरालोले बिहीबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्

नेता कोइराला र प्रचण्डबीच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा दुई नेताबीच एमसीसी, स्थानीय चुनाव, र संसदको गतिरोध अन्त्यका विषयलगायतमा छलफल भएकाे बताइएको छ ।

कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार कोइरालाले कांग्रेस, माओवादी वा अरू कुनै पनि दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारेका छन् । नेता कोइरालासँग अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न आग्रह गरेका थिए । तर, कोइरालाले कांग्रेस एक्लै निर्वाचनमा जाने र गठबन्धन नगर्ने आफ्नो स्पष्ट धारणा राखेका थिए ।

यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेका छन् । नेता सिंहका अनुसार राष्ट्रिय सहमति जुटाएर संसद खुलाउन पहल गर्न समेत कोइरालाले आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका हुन् । कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए ।

एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउने विषयमा नयाँ गाँठो पर्न थालेपछि नेताहरुको भेटघाट बाक्लिएको छ । सोही क्रममा नेता कोइराला खुमलटार पुगेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ