पुर्व सांसदसहित दुई दर्जन माओवादी नेताहरु एमालेमा प्रवेश


काठमाडौं  –नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेका छन् । लामाको नेतृत्वमा हुम्ला जिल्लाका महत्वपूर्ण नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन । लामा २०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद हुन ।

प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, र जनसंगठनका ४ जना केन्द्रीय सदस्य रहेको एमालेले जनाएको छ । उनिहरुलाई आज बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गरेकोमा धन्यवाद दिंदै प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दावी गरेका थिए । उनले उक्त समुहको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुने बताएका थिए ।

उक्त अवसरमा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ