स्थानिय निर्वाचन जेठभित्रै गर्ने गठबन्धनको निर्णय सकारात्मक : निर्वाचन आयोग


काठमाडौं  – निर्वाचन आयोगले जेठ महिनाभित्र स्थानिय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठमा निर्वाचन गर्नेबारे सरकारको निर्णय नआएपनि गठबन्धनको उक्त निर्णय सकारात्मक भएको बताए ।

‘जेठमहिनाभित्रै स्थानिय निर्वाचन गर्ने निर्णय गरिएको भन्ने सुनिएको छ । जुन एकदमै सकारात्मक हो । निर्वाचन नै समयमा नहुने हो कि भन्ने किसिमका जुन बहस छलफल भएका थिए त्यसको अन्त्य भएको छ,’ उनले भने, ‘अब स्थानीय तहको निर्वाचन समयमै हुने एउटा निष्कर्षमा पुगेको स्थिति छ । ५ गते जनप्रतिनिधिहरुको अवधि समाप्त हुने भएको हुनाले त्यसकै सेरोफेरोमा निर्वाचन गर्ने कुरालाई आयोगले सकारात्मक रुपमा लिन्छ । तर सरकारको निर्णय भने आउँन बाँकी छ ।’

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । स्थानिय निर्वाचन गर्न सरकारलाई पटक पटक ताकेता गर्दै आएको निर्वाचन आयोगले उक्त निर्णयलाई सकारात्मक रुपमा लिएको हो ।

स्थानिय निर्वाचनका लागि यसअघि नै आयोगले आफ्नो धारणा प्रस्ट राखिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि आयोग ९० दिनको तयारीमा पनि चुनाव गराउन तयार रहेको बताए ।

‘हामीले त १०० दिनमा नै निर्वाचन गर्न सक्छौं भनेर सरकारलाई भनिसकेका छौं । सय दिनमा नै भ्याउँछौं । तर, राष्ट्रका लागि पर्छ भने ९० दिनको तयारीमा पनि चुनाव गराउन सक्छौं भन्ने हो,’ उनले भने, ‘अब हामी सरकारलाई सबै विषयवस्तु हेरेर मिति सिफारिस गर्छौं ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ