विमानस्थलबाट कसरी गायब भयो नौ किलो सुन ?


सुन चोरी गरेर बेच्ने गिरोह समातियो, सुन तस्करी गर्ने रहस्यमै 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कस्तो हालतमा चलिरहेको छ भन्ने हालैको एक सुन तस्करीको घटना काफी छ । विद्युतीय चुरोट (भेप्स)भित्र लुकाएर नौ किलो सुन तस्करीमा भन्सारका कर्मचारीले तस्कर समूहलाई मात्र उन्मुक्ति दिएनन्, तस्करीको सुन पनि मिलेमतोमै गायब बनाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यो घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी पहिलो चरणको अनुसन्धान टुग्ंयाएको छ । अनुसन्धानमा भन्सार कार्यालयको भूमिका शंकास्पद देखिएको प्रहरी अधिकारीहरूले बताएका छन् । यो घटनाले विमानस्थलको सुरक्षा लापरबाही फेरि एकपटक बाहिर ल्याएको छ । नौ किलो सुन गायब बनाएको विषयमा गृह मन्त्रालयले समेत चासो दिई सूक्ष्म ढंगले अनुसन्धान थालेको छ ।

सुन तस्करीको चिनियाँ शैली 
१० पुस ०७९ को बिहान करिब ७ बजे । फ्लाई दुबईको उडानमार्फत चिनियाँ नागरिक ली हासोङ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छन् । उनीसँग वजनदार दुई सुटकेस हुन्छन् । आगमनको भन्सार जाँचको एक्सरेमा उनको सुटकेसमा सुनजस्तो वस्तु देखिन्छ । अर्काेतर्फ, ठूलो परिमाणमा विद्युतीय चुरोट ल्याएको भन्दै भन्सारले ‘आरसी ट्याग’ लगाएर उनको दुवै सुटकेस नियन्त्रणमा लिन्छ । पासपोर्ट राखेर भन्सारले चिनियाँ नागरिक होसङलाई जान दिन्छ । भोलिपल्ट चिनियाँ नागरिक आफ्नो पासपोर्ट फिर्ता लिन्छन् र पर्सिपल्ट आफ्नो देश फर्कन्छन् ।

भन्सारले नियन्त्रणमा लिएका दुई सुटकेस डेढ महिनासम्म आगमन कक्षकै छेउमा थन्किन्छ । २९ माघमा विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिन्छ । यहीबीचमा विमानस्थल भन्सार कार्यालयका पूर्वसुरक्षागार्ड निर्मल विकले सुराकी पाउँछन्– सो सुटकेसमा रहेका विद्युतीय चुरोटभित्र सुन लुकाइएको छ । उनले पाएको जानकारी थियो– यसरी सुन रहेको विद्युतीय चुरोट तान्दा धुवाँ आउँदैन । एउटा चुरोट निकालेर उनले परीक्षण गर्छन्, तान्दा धुवाँ आउँदैन । त्यसलाई थप निश्चित गर्न चुरोट फुटाएर सुन पनि निकाल्छन् । त्यसपछि भन्सारभित्र गाइँगुइँ चल्छ, विद्युतीय चुरोटभित्र ठूलो मात्रामा सुन छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले पनि त्यो कुरा थाहा पाउँछन् । सुन हात पार्न उनले नाटकीय योजना बनाउँछन् । सुटकेसभित्र अर्काे विद्युतीय चुरोट लगेर राख्ने र त्यो निकालेर सुन बेच्ने । त्यसका लागि उनले भन्सारको मुद्दा शाखामा कार्यरत नायब सुब्बा रेवन्त खड्कालाई साझेदार बनाउँछन् । खड्का पनि लोभिन्छन् । योजनाअुनसार २९ फागुनमा नासु खड्काले दुईवटा सुटकेस कोठाबाट भन्सारको फोहोर राख्न कोठामा लैजान्छन् । त्यो कोठामा सिसिक्यामेरा नभएकाले विद्युतीय चुरोट साट्न त्यसरी सारिएको थियो । सोही कोठामा अर्काे विद्युतीय चुरोट राखेर सुन भएको निकालिन्छ । १८ मार्चदेखि १५ अप्रिलको बीचमा त्यसरी विद्युतीय चुरोट साटिएको सिआइबीको निष्कर्ष छ ।

भन्सारका अन्य कर्मचारीले पनि त्यसमा सुन रहेको सूचना पाएपछि पछि खोलेर हेर्दा पहिलेभन्दा फरक विद्युतीय चुरोट देखिन्छ । जसका आधारमा सुन चोरी भएको आशंकामा भन्सार कार्यालयले वैशाखमा सिआइबीमा निवेदन दिन्छ । सिआइबीका डिएसपी दुर्गा दाहालको नेतृत्वमा अनुसन्धान सुरु हुन्छ । करिब दुई महिना लामो अनुसन्धानमा भन्सार कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरी आइतबार सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा अझै जारी रहेको र बाँकी विषयमा दोस्रो चरणमा अनुसन्धान गरिने सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य बताउँछिन् ।

अनुसन्धानको क्रममा शंकास्पद भूमिका देखिएपछि गत ३० जेठमा भन्सार कार्यालयको मुद्दा शाखामा नायब सुब्बा रेवन्त खड्का पक्राउ पर्छन् । उनले तस्करीको सुन चोरिएको घटनामा आफ्नो संलग्नता स्विकार्छन् । उनले ६५ लाख रुपैयाँ लिएका थिए । जसमध्ये २५ लाख साथीलाई र ४० लाख आफन्तलाई राख्न दिएका थिए । त्यो पैसा सिआइबीले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमार्फत जफत गराइसकेको छ ।

उनलाई पैसा दिने व्यक्ति भन्सार एजेन्ट दिनेश बस्नेत हुन् । बस्नेतले सो सुन भिनाजु गोपाल सुवेदी र भाइ दिपेश बस्नेतमार्फत बिक्री गरेका थिए । सो सुन बिक्रीमा विशालबजारमा घडी तथा चस्मा पसल चलाउने साहेब राव मर्गलेले मध्यस्तता गर्दछन् । उनले सुनको जाँच गर्ने व्यवसायमा संलग्न भारतीय नागरिक नन्दकुमार पाण्डरम मर्गलेलगायतलाई सुन बिक्री गरेका थिए । उनी अनुसन्धान सुरु हुुनुअघि नै भारत भागेका छन् । जसकारण प्रहरीले तस्करीको सुन बरामद गर्न सकेको छैन ।

करिब नौ किलो सुन ६ करोडमा बिक्री भएको अनुसन्धानमा खुलेको छ । बिक्री गरेकोमध्ये ८० लाख भन्सार एजेन्ट बस्नेतकै बैंक खातामा भेटिएको छ । त्यस्तै, उनीहरूले सिन्धुपल्चोक घर भएका मेडिकल व्यवसायी अमृत कार्कीको नाममा भक्तपुरको ठिमीमा जग्गा पनि खरिद गरेको भेटिएको छ । कार्कीलाई पनि सिआइबीले पक्राउ गरिसकेको छ । तर, सुन चोरीको घटनासँग कार्कीको पनि प्रत्यक्ष संलग्नता देखिएको छैन । साथीले आग्रह गरेपछि आफ्नो नाममा जग्गा पास गरिदिएको उनले बयान दिएका छन् ।

दिनेशले आफ्ना ससुुरा रामकेशव थापा क्षेत्रीको नाममा पनि केही सम्पत्ति लुकाएको सिआइबी अनुसन्धानमा खुलेको छ । यो घटनामा नासु खड्का, भन्सार एजेन्ट बस्नेत, भन्सारका पूर्वसुरक्षागार्ड निर्मल विक, सुन बेच्न मध्यस्थता गर्ने वेदप्रकाश अग्रवाल र साहेब राव मर्गले तथा सुनको पैसाले जग्गा किन्ने अमृत कार्की सिआइबी हिरासतमा छन् भने अन्य फरार छन् । भन्सारका पूर्वसुरक्षागार्ड विकले एउटा चुरोटमा भएको सुन मात्र आफूले पाएको बताएका छन् । यद्यपि, अनुसन्धानको क्रममा उनले ४० वटा चुरोटमा भएको सुन चोरेको निष्कर्ष छ । भन्सारका सामान चोरी गरेर बिक्री गरेकै आधारमा उनलाई त्यहाँबाट केही महिनाअघि मात्र हटाइएको थियो ।

सुन तस्करी गर्ने समूहले लिलाम गरेर सो सुन तस्करी गराउने पहल गरिरहेको थियो । सोही आधारमा निर्मलले त्यससम्बन्धी सूचना पाएका थिए । त्यसरी लिलाममार्फत सुन तस्करी गराउन खोज्ने समूहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका ६ तथा केही फरारविरुद्ध प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराध कसुरमा मुद्दा प्रक्रिया अघि बढाएको छ । सुन तस्करी गर्ने गिरोहका विषयमा भने थप अनुसन्धान चलिरहेको सिआइबीका डिएसपी दाहाल बताउँछन् । यसका प्रतिवादीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान हुने सम्भावना छ ।

आगमनमा भन्सारको लापरबाही, प्रहरीलाई निषेध 
यो घटनामा भन्सार कर्मचारीको चरम लापरबाहीका कारण सुन तस्करी गर्ने व्यक्ति सहजै उम्किएका छन् । विद्युतीय चुरोटभित्र सुन ल्याउने चिनियाँ नागरिकमाथि अनुसन्धान नै भएन । शंकास्पद वस्तु ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिनुपर्नेमा पासपोर्ट मात्र राखेर छाडिदिनु र सुटकेसभित्र भएको सामानको परीक्षण नै नगरी पासपोर्ट फिर्ता दिएका थिए । ‘यदि त्यसबारेमा प्रहरीलाई जानकारी गराएको भए तत्कालै सुन तस्करी गर्ने गिरोह पनि पक्राउ पर्ने थियो,’ अनुसन्धानमा आबद्ध एक अधिकृत भन्छन्, ‘यसमा भन्सारका कर्मचारीको शंकास्पद गतिविधि देखिएको छ ।’

पक्राउ परेका चिनियाँ नागरिक त्यसअघि पनि सातपटक नेपाल आइसकेका थिए । त्यसवेला पनि उनले त्यसैगरी विद्युतीय चुरोटभित्र लुकाएर सुन ल्याएको हुन सक्ने आशंका गरिएको छ । तर, विमानस्थलको पुरानो सिसिक्यामेराको भिडियो स्टोरेज नहुँदा त्यो विषयमा प्रहरीले अनुसन्धान गर्न सकेको छैन ।

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सुरक्षाबाहेकको अवस्थामा प्रहरीलाई कुनै अधिकार छैन । जसकारण विगतमा पनि पटक–पटक गम्भीर सुरक्षा त्रुटि हुँदै आएका छन् । भन्सार पास भएका सुन पनि आगमन कक्षबाट बाहिर आएलगत्तै प्रहरीले पक्राउ गर्ने गर्दछ । आगमन कक्षमा प्रहरीलाई पनि पहुँच दिन प्रहरी प्रधान कार्यालयले माग गर्दै आएपछि भन्सारले मान्ने गरेको छैन । पछिल्लो घटनापछि गृहले अर्थ मन्त्रालयसँग यस विषयमा छलफल थालेको छ ।

विमानस्थलस्थित भन्सार कार्यालयका निमित्त प्रमुख नारद गौतम आगमनमा भन्सारले चनाखो भएरै काम गरिरहेको बताउँछन् । ‘भन्सारका कर्मचारीका दक्षताको कमी हुन सक्छ, तर धेरै कमजोर पनि छैनौँ,’ उनले भने, ‘हामीले प्रहरीलाई आगमनमा निषेध गरेका छैनौँ, सहकार्य नै हुने गरेको छ ।’

८८ किलोका सुन तस्करीको गिरोहसँग कनेक्सन 
यो प्रकरणमा फरार रहेका भारतीय नागरिक नन्दकुमार मर्गले यसअघि पनि सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति हुन् । ६ वर्षअघि प्रहरीले ८८ केजी सुन बरामद गर्दा तस्करीको अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए । उनको ओटुमा पशुपति सनुचाँदी पसल छ । उनी मूलतः सुनको गुणस्तर जाँच्ने काम गर्दछन् । यो तस्करीको सुन उनले नै विभिन्न व्यक्तिलाई बिक्री गरेको प्रहरी आशंका छ । उनी फरार हुँदा तस्करीको सुन किन्ने व्यक्तिहरू अनुसन्धानको दायरामा आउन सकेका छैनन् ।

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ