पोखरा विमानस्थलः नियमित उडानको अनिश्चितता कायमै


काठमाण्डु- पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ । सञ्चालनमा आएको करिब ६ महिनापछि छिमेकी मुलुक चीनको छेन्दु-तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक चार्टर उडान गरेको हो ।

एयरबस ए-३१९ जहाज आज बिहान ९ः०६ बजे अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए। जहाजबाट चीन भ्रमणमा गएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल-चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा पुगेका छन्।

अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गतेदेखि सञ्चालित सो विमानस्थलबाट यसअघि आन्तरिक उडान मात्रै हुँदै आएको थियो। पर्यटन व्यवसायीहरुले भने चीनका विभिन्न सहरसँगै भारत र अन्य मुलुकबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विश्वास व्यक्त गरेका छन्।

यही विश्वासमा पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमान बन्नु अघि र पछि पनि पोखरामा पर्यटकीय पूर्वाधारमा लगानी बढाइरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

वर्षौदेखि आँगनमा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताए। भण्डारीले भने “सुरुआतमा चार्टर्ड उडान सञ्चालन भए पनि हामी उत्साहित छौँ ।

नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ, नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।”

यद्यपी नियमित हुनमा अनिश्चितता भने अँझै पनि कायमै छ। भारतले अन्तर्राष्ट्रिय रुट परमिट नदिँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घरेलु उडानमै सीमित छ। पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले अन्तर्राष्ट्रिय विमानका लागि व्यावसायिक अध्ययन भइरहेको बताए।

बीआरआई विवाद के हाे?

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको दाबी गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको दाबी गरे। राजदूत सोङले पोखरा विमानस्थल चिनियाँ कम्पनीले नै डिजाइन र निर्माण सम्पन्न गरेको बताए।

बीआरआई परियोजनामा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेपनि यो अनुदान वा ऋण भन्ने स्पष्ट नहुँदा विवादित हुँदै आएको छ। गत चैत्रमा तत्कालीन चिनियाँ विदेश मन्त्री वाङ यी सँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बीआरआई अन्तरगतका परियोजनाहरु ऋण हो भने त्यो नेपाललाई स्वीकार्य नहुने जानकारी दिएका थिए।

नेपाल सरकारले बीआरआई परियोजना ऋण हो कि अनुदान हो भन्ने स्पष्ट पार्न चीन सरकारलाई आग्रह गर्दै आएको छ। यस अगाडि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गतकै परियोजना रहेको दाबी गरेको थियो ।

सन् २०१२ मा नेपाल र चीनबीच विमानस्थल बनाउनेबारे समझदारी भएको थियो । त्यतिबेला विना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट’ (ईपीसी) मोडेलमा विमानस्थल बनाउन सिधै चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो । जब कि बीआरआई योजनाको सुरुवात सन् २०१५ बाट भएको हो । नेपालसँग भने २०१७ मा सम्झाैता भएकाे थियाे। चिनियाँ राष्ट्रपति सी चीनफिङ सत्तामा आएपछि यो योजना सुरु गरिएको थियो।

सरकारले यो विमानस्थल बनाउन एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना एक्जिम बैंकबाट २१५.९६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएको थियो। यता नेपाल नागरिक उड्ययन प्रधिकरण (क्यान) ले भने विमानस्थल निर्माण गर्नेसम्बन्धि नेपाल र चीनले गरेको सम्झौतामा कँही परि बीआरआई उल्लेख नगरिएको दाबी गरेको छ। क्यानका प्रवक्ता जगन्नाथ निरौलाले नेपालमा बीआरआई आउनुपूर्व नै विमानस्थल निर्माणको काम सुरु भएको बताए। विमानस्थलमा आन्तरिक उडान संख्या समेत बढिरहेकाले निर्माण लागत असुल्नका लागि समस्या नरहने समेत उनको भनाई छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ