महाकाली नदीमा भारतले रोकेन तटबन्ध निर्माणको काम


दार्चुला। नेपालको सहमती बिनै दार्चुलाको महाकाली नदीमा भारतले तटबन्ध निर्माणको काम जारी राखेको छ। दार्चुलाको सदरमुकाम खलंगा स्थीत सीमाक्षेत्रमा भारत पक्षले तटबन्ध निर्माणको काम गरिरहेको हो।

भारतीय पक्षले महाकाली मिचेर तटबन्ध निर्माण गर्ने कार्य गरिरहदा समेत नेपाल सरकारले भने मुख खोल्न सकेको छैन । सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमती र समन्वय हुनुपर्ने व्यवस्था रहेको छ । सीमामा कुनै पनि गतिविधि गर्न दुवै देशको सहमती आवश्यक भएपनि भारतले एकलौटी धमाधम तटबन्ध निर्माण गरिरहेको हो।

महाकाली नगरपालिका – ४ स्थित पुलघाट क्षेत्रको पारी धार्चुलामा रहेको स्टेडियम छेउदेखि घट्टे खोला सम्म महाकाली नदि किनारमा २०७८ माघ पहिलो साताबाट भारतले करिब १ किलोमिटर लम्बाई ९ मिटर उचाई तथा १० मिटर चौडाईको पक्की तटबन्ध सुरु गरेको थियो।भारतले महाकाली नदी धार नेपालतर्फ फर्काउने गरेर तटबन्ध निर्माण गरि रहेको थियो । सो बेला खलंगाबासीहरुले विरोध गरेका थिए । भारतको ज्यादती देखेर नेपालीहरुले विरोध गरेपछि तटबन्ध अलि पर सारिएको थियो। भारतले बलमिच्याँई ढंगबाट तटबन्ध निर्माणको थालनी गरेपछि यहाँका जनताले स्थानीय प्रशासन देखि केन्द्र सरकारको समेत ध्यानाकर्षण गराएका थिए ।

तटबन्ध निर्माण सुरु गरेपछि स्थानीय प्रशासनले माघ २० गते दुवै देशका स्थानीय अधिकारी र सुरक्षाकर्मी विच चलेको काउन्टरपार्ट मिटिङमा यो विषय उठेको थियो । त्यो बेला भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुले तटबन्ध निर्माण गर्दा नदीको वहाव परिवर्तन नहुने तथा नेपालमा कुनै असर नपर्ने गरि निर्माण गर्ने प्रतिबद्धता गरेका थिए । तर प्रतिबद्धता तोडेर फेरि भारतले धार्चुला पुलघाटको उत्तरमा महाकाली नदीको पानी नेपाल तर्फ फर्किने गरेर तटबन्ध बनाउन थालेको छ। भारतलाई तटबन्ध निर्माणका विषयमा प्रशासनले पत्राचार गर्दै आएको भएपनि काम नरोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका खरिदार सागर जोशीले बताएका छन।

नेपाललाई असर पर्ने गरेर भारत पक्षले गरिरहेको कामको गृहमन्त्रालयमा समेत धेरै पटक पत्र पठाइ सकिएको दार्चुला प्रशासनले जनाएको छ । तर अहिले पनि भारतले काम भने रोकेको छैन ।महाकाली मिचेर तटबन्ध गरिरहँदा पनि सरकार कडा रुपले प्रस्तुत नभएको खलंगावासि नागरिकहरूले गुनासो गरेका छन । दार्चुलाको सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालय सहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगंगा बाँधका कारण ९ वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी अहिले महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन् । महाकालीको धार नेपालतिर फर्किँदा दार्चुला सदरमुकाम नै जोखिममा पर्ने स्थिति आउने भन्दै स्थानीय नागरिकहरू तर्सित भएका हुन् । नेपाल सरकारले भने सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाउँदै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ