कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था छ : उपप्रधानमन्त्री खड्का


उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताएका छन् । प्रेस युनियन सुर्खेतले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका उनले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यो सरकारले त्यसबाट मुक्ति दिलाउन आवश्यक नीति, कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन गर्नेछ ।’ ठुलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र देशको रक्षाका लागि बनेको गठबन्धन नभत्किने उपप्रधानमन्त्री खड्काको दाबी छ । देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उनले दोहो¥याए ।

राष्ट्रियताका रक्षाका लागि चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको उपप्रधानमन्त्री खड्काले बताए । भारतसँगको सीमा विवादबारे उनले भने, ‘त्यसलाई अन्य ढंगबाट समाधान गर्ने बाटोतिर अघि बढ्यौं भने हामी अप्ठेरोमा पर्ने बाटोमा जान्छौं । यो उत्तेजनामा, आवेगमा समाधान गर्ने विषय होइन । यो धैर्यवान् भएर, इहिासको पाठ सिक्दै, विश्वासको वातावरण बनाएर यस्ता समस्याको समाधान गर्नुपर्छ । यो रक्षा मन्त्रालयले गर्ने कुरा मात्रै होइन । नेपालको भूभागको रक्षा गर्ने कुरामा नेपाली सेना प्रतिबद्ध छ ।’

कर्णाली प्रदेश सरकार केन्द्रकै गठबन्धनअनुसार बनाइने बताउँदै उनले चाँडै सरकारका बारेमा आवश्यक निर्णय हुने बताए । अब कर्णालीले विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने उनको आश्वासन छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ