शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्छौ : उपाध्यक्ष महरा


काठमाण्डु – नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएका छन् ।

माओवादी घटक ९ राजनीतिक दलहरूले आज काठमाण्डुमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैँ उनले अग्रगमन र प्रतिगनबीचको लडाइँ पेचिलो बन्दै गएकाले शान्ति सम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताए । देशमा विद्यमान समस्या समाधानका लागि आफूहरु मात्रै नभइ यससँग सरोकार राख्ने सबैको साझा प्रयास जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै महराले विज्ञप्ति र ९ दलको धारणाप्रति अन्य पार्टीमा रहेका नेताहरूको पनि ऐक्यबद्धता रहेको बताए । ‘हामी ९ पार्टी जुटेका छौं । जनयुद्धको पृष्ठभूमिबाट आउनुभएका अरु पार्टीमा रहेका साथीहरूले पनि सम्पर्क गरिरहनुभएको छ । उहाँहरूको पनि यसमा ऐक्यबद्धता छ । तर उहाँहरू उपस्थित हुन सम्भव भएन,’ उनले भने ।

माओवादी घटक दलहरू र विगतमा माओवादीमा संलग्न भएर हाल अन्य पार्टीमा रहेका नेताहरूले पनि शान्ति सम्झौताप्रति प्रतिबद्धता जनाएको महराले बताए । माओवादीले राज्य पुनर्संरचना लगायतका लागि संघर्ष गरेको र शान्ति सम्झौतामा आएको तर हाल मुलुक प्रतिगमनको दिशामा अगाडि बढिराखेको आशंका महराले गरेका छन् ।

नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले विस्तृत शान्ति सम्झौताको मर्मविपरीतका गतिविधि देखिएकाले आफूहरु एकै ठाँउमा आइपुगेको बताइन् । उनले अन्तरिम संविधान, शान्ति सम्झौता र दोस्रो जनआन्दोलन तथा विगतमा भएको सहमतिको बर्खिलापका गतिविधिकाविरुद्ध आफूहरु एकै ठाउँमा उभिएको बताएकी छन् ।

संयुक्त विज्ञप्तिमा द्वन्द्वबाट पीडित नागरिक तथा उनीहरुका परिवारलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले विद्यमान कानुनमा सुधार गर्न दिएको निर्देशनमा आफूहरुको ध्यान गएको उल्लेख छ । मुलुकमा विद्यमान जातीय, क्षेत्रीय, लिङ्गीय वर्गीयलगायतका समस्या समाधान गरी राज्यको अग्रगामी पुनःसंरचना गर्ने सङ्कल्प गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ