राष्ट्रपति निर्वाचन: ओली-प्रचण्डको साझा उम्मेदवार भेटिन कतिको सहज ?


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो सयम तिव्र भेटवार्ता भइरहेको छ । पछिल्लो समय भएको भेटवार्तामा यी दुई नेताहरुबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भइरको हो ।

यसैबीच मंगलबार पनि ओली र प्रचण्डबीच भेटवार्ता भयो । आजको भेटवार्तामा पनि यी दुई नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको जनाइएको छ ।

निरन्तर अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएपनि राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सहमति जुट्न सकेको छैन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिसहमति खोज्नु पर्ने बताउँदै आएका छन् ।

पुस १० गते भएको सहमति अनुसार नेकपा एमालेले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र त्यसैमा राष्ट्रिय सहमति गर्नुपर्ने ओलीको अडान छ । २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि गठबन्धन दलबीच १० पुसमा भएको भागबन्डाको सहमति कार्यान्वयन गर्न प्रचण्डले आनाकानी गरिरहेका हुन् ।

कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन भत्किएर १० पुसमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला गठबन्धनको भागबन्डामा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी भएको हो । तर, हाल एमालेलाई राष्ट्रपति दिने मनिस्थितिमा प्रचण्ड छैनन् ।

त्यस्तै माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरिसकेको छ । नेकपा माओवादी पुस १० गतेको सहमतिबाट पछि हटेपछि सत्ता गठबन्धनको भविष्यमाथी नै प्रश्न खडा भएको छ ।

अर्कोतर्फ ओली-प्रचण्डले खोजेको राष्ट्रपतिको साझा उम्मेदवार भेटिन भने सहज छैन् । नेकपा एमाले कुनै पनि हालतमा राष्ट्रपति नछाड्ने दाउमा छ । पुस १० गतेको सहमति अनुसार राष्ट्रपतिमा एमालेले दाबी गर्नु स्वभाविक नै हो ।

तर, आफूलाई विश्वासको मत दिएकाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने प्रचण्डको रणनीति देखिन्छ । त्यसकारण पनि प्रधानमन्त्री प्रचण्डले पुस १० गते नेकपा एमालेसँग भएको सहमति कार्यान्वयन गर्न आनाकानी गरिरहेका हुन् । 

यता नेपाली कांग्रेसका नेताहरुले पनि राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्दै आएका छन् । आज मात्रै कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने बताए ।

आज नेपाल प्रेस युनियन अधिवेशनको सौराहामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र आफूले जित्ने दाबी गरेका हुन् ।

‘राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ’, उनले भने । विश्वासको मत लिनु अघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच यसबीषयमा सहमति भइसकेको पनि कांग्रेस नेताहरुको दाबी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ